Logo
२३ चैत्र २०८१, आईतबार
(April 3, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आन्दोलित शिक्षकहरू भन्छन्, ‘सरकारले अध्यादेशबाट भए पनि विद्यालय शिक्षा ऐन जारी गरोस्’

काठमाडौँ । काठमाडौँमा आन्दोलित शिक्षकहरूले अध्यादेशबाट भए पनि विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेका छन् । बिहीबारको प्रदर्शनका क्रममा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनीहरूले सरकारले आफ्ना मागहरू पूरा गर्न अध्यादेशबाट भए पनि नयाँ शिक्षा ऐन ल्याउनुपर्ने उनीहरूले बताएका हुन् ।

उनीहरूले सरकारले हिउँदे अधिवेशनमा विद्यालय शिक्षा विधेयक सदनमा ल्याउने भने पनि नल्याएको बताए । प्रदर्शनमा सहभागी शिक्षक भूपेन्द्रनाथ अधिकारीले समग्र शैक्षिक अवस्था परिवर्तनका लागि आफूहरू आएको र शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग गरे । उनले अब आउने शिक्षा ऐनले विद्यार्थी, अभिभावकको र शिक्षकको समस्या हल गर्नुपर्ने बताए ।

उनले भने, ‘समग्र शैक्षिक अवस्था परिवर्तनका लागि आएका हौँ । शिक्षा ऐन जारी गरियोस् । शिक्षा ऐन नहुँदा अहिलेको ७५३ वटै पालिकामा फरक फरक किसिमको शिक्षा प्रदान भइरहेको छ । त्यसलाई एउटै बनाउन र २०२८ सालको शिक्षा ऐनबाट शासित हुन गाह्रो भएको छ । अहिलेको शिक्षा ऐन प्रविधिमैत्री भएको छैन । अब आउने शिक्षा ऐनले विद्यार्थी, अभिभावकको र शिक्षकको समस्या हल हुनुपर्छ । हामीले सडकबाट सदन बोलाएर शिक्षा ऐन आओस् ।’

प्रदर्शनमा सहभागी शिक्षक शिवलाल बरालीले सरकारले अध्यादेशबाट भए पनि नयाँ शिक्षा ऐन जारी गर्नुपर्ने माग गरे । उनले अहिलेको शिक्षा ऐनले सार्वजनिक शिक्षा सुधार गर्न नसकेको र नयाँ शिक्षा ऐन सार्वजनिक शिक्षा सुधार हुने किसिमको आउनुपर्ने बताए ।

उनले भने, ‘नयाँ शिक्षा ऐन जारी गर्न र हाम्रो शिक्षक हक, अधिकारको लागि माइतीघरमा आएको हो । शिक्षा ऐन पुरानो भयो, यसले नयाँ प्रविधिलाई समेट्न सकेन । सार्वजनिक शिक्षा सुधार हुने किसिमको प्रविधिमैत्री शिक्षा ऐन हुनुपर्छ । पुरानो ऐनले अहिलेको शिक्षामा परिवर्तन भएको छैन । सरकारसँग भएका सहमति सरकारले अक्षरशः पालना गरोस् । अब आउने शिक्षा ऐनमा अक्षरंश लेखेर छिटो भन्दा  छिटो नयाँ शिक्षा ऐन जारी गरियोस् । सरकारले चाह्यो भने अध्यादेशबाट शिक्षा ऐन जारी गर्न सक्छ । सडकबाटै दबाब दिन उपस्थित भएका हौँ ।’

त्यस्तै अर्का शिक्षक हेमलाल घिमिरेले सरकार र शिक्षक महासंघबिच पटक पटक सहमति भएको बताउँदै २०७५, २०७८ र २०८० सालमा शिक्षक महासंघ र सरकारबिच सहमति अक्षरशः कार्यान्वयन हुनुपर्ने बताए । देशमा शैक्षिक गुणस्तर वृद्धिको निमित्त, दक्ष जनशक्ति नेपालमै रहनको निमित्त नयाँ शिक्षा ऐन जरुरी रहेको उनको भनाई थियो ।

प्रदर्शनमा जुम्लाबाट सहभागी अर्का एक शिक्षकले सरकारले अध्यादेशमार्फत भए पनि शिक्षा ऐन ल्याउनुपर्ने माग गरे । उनले सरकारले चाहेको खण्डमा असम्भव नरहेको जिकिर गरे ।

अर्का शिक्षक रुद्रबहादुर वलीले विगतमा शिक्षक महासंघसँग भएका सम्झौता सम्बोधन हुने गरी नयाँ शिक्षा ऐन जारी हुनुपर्ने माग गरे । उनले भने, ‘विगतमा सरकारसँग भएका सम्झौता सम्बोधन हुने गरी नयाँ शिक्षा ऐन जारी गर्नका लागि दबाब दिन आएका हौँ । हाम्रा समस्या धेरै छन् । तत्कालको लागि हाम्रा नयाँ माग छैनन् ।’

प्रकाशित मिति: Apr 3, 2025

प्रतिक्रिया दिनुहोस्