Logo
२३ चैत्र २०८१, आईतबार
(April 3, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं महानगरमा तनाव : हाजिर गरेर मन्त्रालय हिँडे गुरागाईं

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले तीन महिना १४ दिनपछि कार्यकक्षमा पुगेर हाजिर गरेका छन् । बिहीबार (चैत २१) तनावबीच उनी कार्यालय पुगेका हुन् ।

महानगरमा हाजिर गरेर उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयतर्फ लागेका छन् । मन्त्रालयको बैठकमा सहभागी हुन आफू त्यहाँ जान लागेको उनले बताए ।

उनी महानगरकै वातावरण व्यवस्थापन विभागको गाडीमा चढेर मन्त्रालयतर्फ लागे । उनको गाडीमा महानगरको नगर प्रहरी बलले ‘ह्वील लक’ लगाएको छ ।

नगर प्रहरीले लगाएको ताला फोडेर उनी कार्यकक्षमा प्रवेश गरेका थिए । उक्त ताला फोडेर गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराउने निर्णय गरिएको थियो । मेयर बालेन्द्र शाह (बालेन) अनुपस्थित रहेको कार्यपालिका बैठकबाट उनलाई त्यहाँ प्रवेश गराउने निर्णय गरिएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराउने बैठकको नेतृत्व उपमेयर सुनीता डंगोलले गरेकी थिइन् । गुरागाईं कार्यालय जाने चर्चाबीच नगर प्रहरीले बिहीबार बिहान उनको कार्यकक्षमा ताला लगाएको थियो ।

कार्यालय प्रवेशमा पनि उनलाई नगर प्रहरी रोक्ने प्रयास गरेको थियो । तर, महानगरका कर्मचारी र जनप्रतिनिधिको सहयोगमा उनी कार्यालय प्रवेश गरेका थिए ।

गुरागाईं ०८१ पुस १४ गतेदेखि निलम्बनमा थिए । मेयर बालेनले उनलाई निलम्बन गरेका हुन् ।

काठमाडौं टावर १२ तलाको बनाउने भनिएको थियो । तर, त्यसलाई १९ तलाको बनाउन स्वीकृति दिएको आरोपमा गुरागाईंलाई कार्यालयमा उपस्थित हुन रोक लगाइएको थियो ।

महानगरले गुरागाईंमाथि छानबिन गर्न यसअघि तीन समिति बनाएको थियो । तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई नै काम गर्ने वातावरण मिलाउन निर्देशन दिँदै आएको थियो ।

प्रकाशित मिति: Apr 3, 2025

प्रतिक्रिया दिनुहोस्