विदेशबाट फिर्ता ल्याइएको २१ मूर्ति सङ्ग्रहालयलाई हस्तान्तरण
काठमाडौँ । विभिन्न समयमा चोरी भएर अमेरिका पुगेका २१ वटा पुरातात्त्विक महत्वका मूर्ति सङ्ग्रहालयलाई हस्तान्तरण गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पाटन सङ्ग्रहालय र राष्ट्रिय सङ्ग्रहालयलाई हस्तान्तरण गरेका हुन् । यस क्रममा मन्त्री पाण्डेले नेपालबाट चोरी भएर संसारको जुनसुकै कुनामा पुगेको भए पनि फिर्ता ल्याएरै छोड्ने बताए ।
उनले भने, हाम्रा सम्पदाहरू संसारको कुनै पनि कुनामा पुगोस्,नेपालीहरूले हाम्रा आफ्ना सम्पदाहरू चिन्छन् । त्यसको महत्त्व जान्दछन् र त्यसलाई फर्काएर ल्याउने कुरामा संसार भरी फैलिएका नेपालीहरूले योग्यता राख्दछन् ।नेपालको सम्बन्ध विश्वव्यापी भएको छ । चोरीका मूर्तिहरू नेपाल फर्काएछौं भन्ने सकारात्मक सन्देश दिन सफल भएका छौँ ।’
विगतमा नेपालका महत्त्वपूर्ण पुरातात्त्विक मूर्तिहरू कसरी विदेश पुगे भन्दै प्रश्न गरे । मन्त्री पाण्डेले शक्तिशाली व्यक्तिबाटै नेपालका मूर्ति चोरी गरेर जहाजमार्फत ठुलो सेटिङमा विदेशमा पुगाउने दुस्साहस गरेको उल्लेख गर्दै गएका सम्पूर्ण मूर्तिहरू नेपाल फर्काइने विश्वास दिलाए ।
उनले जुन ठाउँबाट चोरी भएका हुन् सोही ठाउँमा उक्त मूर्ति प्रतिस्थापन गरिने बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतमा रहेको पुरातत्त्व विभागले हालसम्म बेलायत, अस्ट्रिया, अमेरिका, चीन, भारत, जर्मनी, अस्ट्रेलिया र इटलीबाट जम्मा १ सय ७७ थान पुरातात्त्विक महत्वका मूर्ति तथा कलात्मक वस्तु विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्ति तथा सङ्घ संस्थाको सक्रियतामा फिर्ताको प्रयास भइसकेको जनाएको छ ।