Logo
१७ चैत्र २०८१, सोमबार
(March 28, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौँका सीडीओले भने– ‘प्रदर्शनस्थल बाहेक अन्यत्रको जनजीवनमा असर पर्दैन’

काठमाडौँ । शुक्रबार काठमाडौँको प्रदर्शनीमार्गमा गणतन्त्रका पक्षधर र तीनकुनेमा राजतन्त्र पक्षधरले प्रदर्शन गर्दैछन् । गणतन्त्रको पक्ष र विपक्षमा हुने प्रदर्शनलाई निकै चासोपूर्वक हेरिएको छ ।

समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले प्रदर्शनीमार्गमा मञ्च तयार गरेका छन् । दुर्गा प्रसाईँ र नवराज सुवेदीको नेतृत्वमा पूर्वराजाका समर्थकहरूले तीनकुने चौरमा मञ्च तयार गरेका छन् ।

आन्दोलनका कारण सडकमा सार्वजनिक सवारी आवागमन बन्द हुनसक्ने आशङ्कामा सर्वसाधारणहरू आफ्नो नियमित काममा जान हच्किएका छन् । कतिपयलाई व्यवसाय बन्द गर्नुपर्ने त होइन भन्ने चिन्ता छ । तर, काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ऋषिराम तिवारीले प्रदर्शनको कारण जनजीवनमा कुनै असर नपर्ने बताए । रातोपाटीसँग कुरा गर्दै तिवारीले भने, ‘प्रदर्शन हुने स्थल तीनकुने र प्रदर्शनी मार्गभन्दा बाहेक अन्यत्रको जनजीवनमा असर पर्दैन ।’

सार्वजनिक सवारी आवागमनमा पनि प्रदर्शनले कुनै असर नगर्ने तिवारीले बताए । उनले भने, ‘यातायात व्यवसायीहरूसँग मैले समन्वय गरेको छु, उहाँहरूले निर्बाध रूपमा सवारीसाधन चलाउनु हुन्छ ।’

सभा हुने स्थल र जुलुस हिँड्ने ठाउँमा चाहिँ सवारी डाइभर्ट गरिने तिवारीले जानकारी दिए । प्रदर्शनको सुरक्षा व्यवस्थापनको लागी भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँको कार्यालयमा ‘कमान्ड सेन्टर’ स्थापना गरिएको छ । कमान्ड सेन्टरबाट काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, एसएसपी विश्व अधिकारी र सशस्त्र प्रहरी बलका प्रतिनिधिले सुरक्षा निगरानी गर्नेछन् ।

प्रकाशित मिति: Mar 28, 2025

प्रतिक्रिया दिनुहोस्