Logo
१६ चैत्र २०८१, आईतबार
(March 27, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दोस्रो डिजिटल मिडिया अवार्डबाट सञ्चारकर्मीहरू सम्मानित

काठमाडौँ । दोस्रो राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८१ बाट पत्रकार, सञ्चारकर्मी र समाजसेवीहरूलाई सम्मान गरिएको छ। प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगर, सांसद गणेश पराजुली, आयोजक न्युज एक्सप्रेस मिडिया प्रालिका अध्यक्ष मिलनसिंह परियार, प्रबन्ध निर्देशक जीवन अधिकारी र अनलाइन टिभी पत्रकार संघका अध्यक्ष तथा अवार्ड सिफारिस समितिका संयोजक जीवन भण्डारीले अवार्ड वितरण गरेका थिए ।

बुधवार राष्ट्रिय नाचघरमा आयोजित अवार्ड वितरण समारोहमा यस वर्षको डिजिटल मिडिया लाईफटाइम एचिभमेन्ट अवार्ड वरिष्ठ पत्रकार हरिहर विरहीलाई प्रदान गरिएको थियो। उनले नेपाली पत्रकारिताको उत्थान, निष्पक्षता, सत्य तथ्य समाचारको प्रकाशन तथा प्रेस स्वतन्त्रताको रक्षा गर्दै लोकतन्त्रको मजबुतीकरणमा पुर्‍याएको योगदान अतुलनीय रहेकाले उनलाई अवार्ड प्रदान गरिएको प्रमाणपत्रमा लेखिएको छ।

पत्रकारिताप्रतिको उनको निष्ठा, अडान, निर्भीकता, निष्पक्षता र योगदान धेरैका लागि प्रेरणादायी र अमूल्य रहेको पनि प्रमाणपत्रमा उल्लेख गरिएको छ। न्युज एक्सप्रेस मिडिया प्रालिले गत वर्षको पहिलो राष्ट्रिय डिजिटल मिडिया लाईफटाइम एचिभमेन्ट अवार्ड ९४ वर्षीय वरिष्ठ पत्रकार भैरव रिसाललाई प्रदान गरेको थियो।

कार्यक्रममा डिजिटल मिडिया एडिटर अवार्ड प्राइम टाइम टिभीका प्रधान सम्पादक मुकुन्द दाहाल, वरिष्ठ पत्रकार डिजिटल मिडिया अवार्डबाट ठाकुर बेल्वासे, पपुलर डिजिटल मिडिया पर्सन अवार्डबाट इमेज टिभीका जगदीश खरेल, पपुलर डिजिटल मिडिया अवार्डबाट नेपाल टाइम्स अनलाइन टिभी, जनआवाज डिजिटल मिडिया अवार्डबाट न्युज २४ का टेकनारायण भट्टराई, खोज पत्रकारिता अवार्डबाट अन्नपूर्ण पोस्ट दैनिककी ममता थापा, डिजिटल मिडिया उत्कृष्ट पत्रकारिता अवार्डबाट आजको प्रेस अनलाइन टिभीका रोहित भण्डारी, डिजिटल मिडिया प्रस्तोता अवार्डबाट कान्तिपुर टिभीकी रुपा खड्कालाई सम्मान गरिएको थियो।

त्यसैगरी डिजिटल मिडिया क्रियाशील पत्रकारिता अवार्डबाट हेडलाइन नेपाल अनलाइन टिभीका सञ्जीव रेग्मी, उद्यमशीलता प्रवर्द्धन पत्रकारिता अवार्डबाट सेतोपाटी अनलाइनकी सविना कार्की, डिजिटल मिडिया इथिकल अवार्डबाट सेरोफेरो अनलाइन टिभीका केशवराज जोशी, डिजिटल मिडिया कला पत्रकारिता अवार्डबाट गोपीकृष्ण चापागाईं, डिजिटल मिडिया युवा पत्रकारिता अवार्डबाट शिलापत्र अनलाइनका नवराज कुँवर, डिजिटल मिडिया कल्याणकारी पत्रकारिता अवार्डबाट मेचीकाली अनलाइन टिभीका भोजराज थापा, डिजिटल मिडिया क्यामेरापर्सन अवार्डबाट अनलाइन टिभी नेपालका नवराज गिरी, डिजिटल मिडिया युवा प्रोत्साहन अवार्डबाट केपी अनमोल र डिजिटल मिडिया प्रवास क्रियाशीलता पत्रकारिता अवार्डबाट लक्ष्मण पाठकलई सम्मान गरिएको थियो।

कार्यक्रममा डिजिटल मिडिया एजुकेटर अवार्ड सेफर्ड मिडिया टेक्नोलोजी कलेजकी प्रमुख कविता शर्मालाई र उत्कृष्ट सञ्चार उद्यमी महिला अवार्ड प्राइम टाइम टिभीकी निर्देशक एलिजा गौतमलाई प्रदान गरिएको थियो भने हेमन्ता सुवेदी ढुङ्गेल, उमेश बोहरा, रुद्र ढुङ्गेल, विजय सापकोटा, देवकुमार पाख्रिन र रमेश खड्कालाई सामाजिक सेवा मार्फत अमूल्य योगदान गरेको भन्दै कदरपत्र प्रदान गरिएको थियो।

सबैलाई अवार्ड वितरण गरेपछि कार्यक्रमकी प्रमुख अतिथि तथा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले धेरै योगदान गरेका, असल र सफल व्यक्तित्वहरूलाई सम्मान गर्न पाउँदा गौरव महसुस भएको बताएकी थिइन् । उनले भनिन्, ‘मैले बाल्यकालदेखि नै आदर्श पत्रकारका रूपमा चिनेको र धेरै ठाउँमा उदाहरण दिँदै स्मरण गर्ने वरिष्ठ पत्रकार हरिहर विरहीलाई लाईफटाइम एचिभमेन्ट अवार्ड प्रदान गर्न पाउँदा ठुलो आत्मसन्तुष्टि प्राप्त भएको छ।’

उनले महत्त्वपूर्ण व्यक्तिहरूलाई कदर गर्ने र काम गरिरहेका व्यक्तिहरूलाई थप पहिचान दिँदै प्रोत्साहन गर्ने न्युज एक्सप्रेस मिडिया प्रालिको पनि प्रशंसा गरिन् । कार्यक्रम आयोजना गर्न सगरमाथा नेपाल, डालिमा मिडिया र जनवोली टाइम्सले मुख्य प्रवर्द्धकको रूपमा योगदान गरेका थिए।

प्रकाशित मिति: Mar 27, 2025

प्रतिक्रिया दिनुहोस्