Logo
१६ चैत्र २०८१, आईतबार
(March 27, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि स्थगित

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयले गर्दा बिहीबार पनि संघीय संसद्‍का दुवै सदनका बैठक समयमै सञ्चालन हुन सकेनन् ।

संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गर्दै प्रतिनिधिसभा बैठकको समय परिवर्तन भएको जानकारी दिएका छन् । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक सभामुख देवराज घिमिरेले दिउँसो २ बजेका लागि सारेको महासचिव पाण्डेयको सूचनामा उल्लेख छ ।

त्यस्तै राष्ट्रिय सभा बैठकमा विपक्षीहरूले अवरोध गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले बैठक एक घण्टापछि बस्ने गरी स्थगित गरेका छन् । विपक्षीहरू उठेर विरोध गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले नेकपा एसका सांसद वेदुराम भुसाललाई बोल्न समय दिएका थिए । भुसालले कुलमान घिसिङलाई सरकारले गरेको पदमुक्तको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा आएर जवाफ नदिएसम्म बैठक सञ्चालन गर्न नदिने अडान लिए ।

अवरोधका बीच अध्यक्ष दाहालले कांग्रेस सांसद कृष्णप्रसाद सिटौलालाई बोल्न समय दिए । सांसद सिटौलाले सरकारले ल्याएको विधेयक ६० दिनभित्र प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता भएकाले बैठक सञ्चालन गर्न आग्रह गरे । उनले विपक्षीहरूले ६० दिनको समयसीमा कटाउनका लागि अवरोध सिर्जना गरेको आरोपसमेत लगाए । पटकपटक आशन ग्रहण गरेर बैठक सुरु गर्न आग्रह गरे पनि विपक्षी सांसदले अवरोध कायमै राखेपछि अध्यक्ष दाहालले बैठक एक घण्टाका लागि स्थगित भएको घोषणा गरेका हुन् ।

प्रकाशित मिति: Mar 27, 2025

प्रतिक्रिया दिनुहोस्