दुर्गा प्रसाईँले गर्ने आन्दोलनमा अर्का राजावादी नवराज सुवेदीको समर्थन
काठमाडौँ । दुर्गा प्रसाईँले आगामी चैत १५ गते काठमाडौँमा गर्ने भनिएको प्रदर्शनमा अर्का राजावादी नवराज सुवेदीले समर्थन जनाएका छन् । राजसंस्था पुनःस्थापनाको मागसहित गर्ने भनिएको प्रदर्शनमा आफू नेतृत्वको राजसंस्था पुनःस्थापनाका लागि संयुक्त समितिको समर्थन रहेको सुवदीले जनाए ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै सुवेदीले प्रसाईँले गर्ने भनिएको आन्दोलनमा आफ्नो ऐक्यबद्धता रहेको र सो प्रदर्शनमा उपस्थित हुन आह्वन गरेका छन् । त्यस्तै उनले आगामी दिनमा राजसंस्था पुनःस्थापनाका लागि विशेषत काठमाडौँमा हुने सबै प्रदर्शनमा आफूहरुको पूर्ण साथ, सहयोग र समर्थन रहने जनाएका छन् ।
‘आउँदो शुक्रबार राजधानीमा हुन लागेको विशाल जनप्रदर्शनमा देशका सम्पूर्ण राजसंस्थावादी, हिन्दू अधिराज्यवादी तथा संघीयताविरोधी आम सर्वसाधारण राजनीतिक पार्टी र समूहहरुलाई साथ, सहयोग र समर्थन गर्न म हार्दिक अपील गर्छु । देश बचाउने र बनाउने हो भने हामीसँग अब अर्को विकल्प छैन’, सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
पछिल्लो समय राजावादीहरुको क्रियाकलाप अस्वभाविक रहेको भन्दै माओवादी केन्द्रले चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । उसले गणतन्त्रका पक्षमा माहोल देखाउन आफूहरु नागरिकलाई सडकमा उतार्ने बताएको छ । उता प्रसाईँ नेतृत्वको समूहले माओवादीको सोही प्रदर्शनलाई काउन्टर दिन प्रदर्शन मिति तोकेको छ । जसमा अन्य राजावादी समूहले समेम समर्थन जनाउने क्रम जारी छ ।