Logo
१४ चैत्र २०८१, शुक्रबार
(March 25, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुलमानलाई हटाएर सरकारले जबर्जस्ती समस्या निम्त्यायो : महामन्त्री थापा

काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय सरासर गलत भएको बताएका छन् । महामन्त्री थापाले कान्तिपुरसँग प्रतिक्रिया दिँदै सरकारमै रहेकाले ढाँट्ने काम गरेको बताएका हुन् ।

‘यो सरासर गलत काम भएको छ । हामीलाई उहाँहरूले ढाँट्ने काम गर्नुभयो । जुन बेला हामीले नागरिकको असन्तुष्टि हटाउने काम गर्नुपर्ने हो त्यो बेलामा जानीजानी सरकारबाट यस्तो काम गरिएको छ,’ महामन्त्री थापाले भने । हात हाल्नै नपर्ने ठाउँमा हात हालेर सरकारले जबर्जस्ती समस्या सिर्जना गरेको पनि उनको भनाइ छ ।

‘सरकार चलाउने भनेको कमन सेन्सको कुरा हो । जुन कुरामा हात हाल्नै पर्दैन त्यो कुरामा हात हालेर जबर्जस्ती समस्या सिर्जना गर्नु मुर्खतापूर्ण छ । किन गरेको भन्ने मलाई थाहा छैन,’ उनले भने । आफूहरूले पार्टी सभापति शेरबहादुर देउवालाई समेत कुलमानलाई हटाउनु उचित नहुने भनेर पटक-पटक भनेको पनि महामन्त्री थापाले बताए ।

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर गलत कदम चालेको बताएका छन् । सोमबार साँझ सामाजिक सञ्जालमार्फत महामन्त्री शर्माले कुलमानलाई हटाउन कांग्रेस पदाधिकारी तहको सहमति नभएको पनि बताएका हुन् ।

सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले उक्त पदमा रहेका कुलमान घिसिङलाई हटाउँदै शाक्यलाई नियुक्त गरेको हो ।

प्रकाशित मिति: Mar 25, 2025

प्रतिक्रिया दिनुहोस्