Logo
१२ चैत्र २०८१, बुधबार
(March 24, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिक्षा संकायको डिन कार्यालयमा विद्यार्थीले लगाए ताला

११ चैत, काठमाडौं । त्रिवि, शिक्षा संकायको डिन कार्यालयमा विद्यार्थीहरूले ताला लगाएका छन् ।

शिक्षा शास्त्र केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीको तेस्रो सेमेस्टरको नतिजामा ६८ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएपछि विद्यार्थीहरूले ताला लगाएका हुन् ।

‘सेमेस्टर प्रणालीमा अनुत्तीर्ण हुनु भनेको प्रणाली नै फेल भएको हामी सम्पूर्ण विद्यार्थीको बुझाइ हो,’ ३० जना विद्यार्थीले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।

तेस्रो सेमेस्टरको ‘मेजसरमेन्ट एन्ड इभ्यालुएसन इन एजुकेसन’ विषयमा प्रश्न नै गलत सोधेको कारण नतिजा सन्तोषजनक नभएको विद्यार्थीहरूको आरोप छ ।

गलत प्रश्न सोध्नेलाई कारबाही र नतिजाको पुर्नर्योग गर्न विद्यार्थीहरूले माग गरेका छन् । माग सम्बोधन नभए थप आन्दोलन गर्ने चेतावनी विद्यार्थीहरूले दिएका छन् ।

‘नतिजामा लापराबाही भयो । गलत प्रश्न सोधेका कारण विद्यार्थी अनुत्तीर्ण भएको हो,’ विद्यार्थी गुणस्तर समूहका अध्यक्ष नविन्द्रराज न्यौपानेले भने, ‘उत्तर पुस्तिकाको पुनः परीक्षण हुनुपर्छ ।’

माग पूरा भयो भने भोलि नै ताला खोल्न तयार रहेको न्यौपाने बताउँछन् ।

सहायक डिन जन्तराज कार्कीका अनुसार पनि नतिजामा असन्तुष्टि जनाउँदै विद्यार्थीले ताला लगाएका हुन् । ‘३० जना विद्यार्थीले हस्ताक्षर गरेर ताला लगाएका छन् । अनुत्तीर्ण भएका कारण ताला लगाएका हुन्,’ उनले भने ।

उनका अनुसार नतिजा एक साताअघि सार्वजनिक भएको थियो ।

प्रकाशित मिति: Mar 24, 2025

प्रतिक्रिया दिनुहोस्