Logo
१२ चैत्र २०८१, बुधबार
(March 24, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीरेन्द्र सम्झिंदै प्रचण्डले भने- ज्ञानेन्द्रको बुद्धि छैन, सफल हुँदैनन्

११ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा वीरेन्द्रलाई ‘लोकतान्त्रिक’ र ज्ञानेन्द्र शाहलाई ‘बुद्धि नभएको’ भनेर टिप्पणी गरेका छन् ।

वीरेन्द्रप्रति सिंगो माओवादी आन्दोलन र आफ्नो पनि सकारात्मक धारणा बनेको बताउँदै प्रचण्डले भनेका छन्, ‘वीरेन्द्रले केही न केही डेमोक्रेटिक ढंगले सोच्छन् भन्ने खालको बुझाइ बनेको थियो ।’

तर ज्ञानेन्द्रले निरंकुश राजतन्त्र फर्काउन ८६ वर्षे वयोवृद्ध नवराज सुवेदीलाई आन्दोलनको नेतृत्व गर्न भनेर दुःख दिएको प्रचण्डले बताए ।

हिमालय टेलिभिजनको अन्तर्वार्तामा प्रचण्डले भनेका छन्, ‘ज्ञानेन्द्रको बुद्धि के छ भने नवराज सुवेदी खोजेर, विचरा त्यो ८६ वर्षको बुढालाई दुःख दिने गरी ल्याउने । यसबाट हाम्रो ज्ञानेन्द्र जीको बुद्धि के छ भन्ने देखियो ।’

८६ वर्षीय सुवेदी राजसंस्था पुनर्स्थापनाका लागि गठन गरिएको संयुक्त जनआन्दोलन समितिका संयोजक हुन् ।

विगतमा ज्ञानेन्द्र शाहले दलहरुलाई दबाउन तुलसी गिरी र कीर्तिनिधि विष्ट रोजेको र अहिले सुवेदीलाई खोजेको प्रचण्डले टिप्पणी गरे । तर वीरेन्द्रमा केही न केही लोकतान्त्रिक भावना पाएको उनले बताएका छन् ।

वीरेन्द्रसँग छलफलको प्रयास

प्रचण्डले युद्धकालमा तत्कालीन राजा वीरेन्द्रसँग छलफलका लागि प्रयास गरेको स्मरण समेत गरेका छन् । त्यसको प्रबन्ध मिलाउन पार्टीका नेता कृष्णध्वज खड्कालाई जिम्मा दिएको र खड्कामार्फत् वीरेन्द्रको भाइ धिरेन्द्रसँग सम्पर्क पनि गरेको प्रचण्डले बताएका छन् । त्यतिबेला धिरेन्द्रले लेखेको पत्र अहिले पनि आफूसँग सुरक्षित रहेको प्रचण्डले बताए ।

तत्कालीन राजा वीरेन्द्र र माओवादीबीच सम्पर्क स्थापित भएको थाहा पाएपछि दरबार हत्याकाण्ड भएको हुनसक्ने प्रचण्डले सुनाए ।

‘वीरेन्द्रसँग एक खालको सम्वाद हुने परिस्थिति बन्दै थियो,’ प्रचण्डले अन्तर्वार्तामा भनेका छन्, ‘जब रोल्पाको होलेरी घटना भयो, हाम्रा जनमुक्ति सेनाका कमाण्डर र त्यहाँ गएका त्यतिबेलाका शाही सेनाका कमाण्डरबीचमा वार्ता पनि भयो । सायद देशभित्रका सबभन्दा प्रतिगामी, निरंकुश, तानाशाही प्रवृत्तिका मान्छे र हुनसक्छ देश बाहिरका प्रतिक्रियावादीलाई पनि वीरेन्द्रलाई ज्युँदो राख्यो भने त यसले माओवादीलाई पो प्रमोट गर्नेभयो भन्ने पर्‍यो कि ! मलाई त्यो चाहिँ लागिराख्छ ।’

२०५८ जेठ १९ गते राति नारायणहिटी दरबारभित्रै गोली चल्दा वीरेन्द्रको वंश नास भएको थियो । त्यतिबेला तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, अधिराजकुमार धिरेन्द्र लगायतको हत्या भएको थियो ।

त्यसपछि जेठ २२ गते ज्ञानेन्द्र शाह राजा बनेका थिए । राजनीतिमा सक्रिय हुने चाहनाका कारण उनले २०६१ माघ १७ गते शासन सत्ता हातमा लिएको घोषणा गरे । कांग्रेस, एमाले लगायतका दलका शीर्ष नेताहरु पक्राउ परे ।

सो घटनापछि युद्धमा रहेको माओवादी र नेपालका अन्य सात राजनीतिक दलहरुबीच दिल्लीमा बाह्र बुँदे समझदारी भएपछि राजाको प्रत्यक्ष शासनविरुद्ध २०६२ चैत २२ देखि जनआन्दोलन सुरु भएको थियो ।

जनआन्दोलन दबाउने कोसिस गरे पनि नसकेपछि ज्ञानेन्द्र शाहले २०६३ वैशाख ११ गते नारायणहिटीबाट सम्बोधन गर्दै ‘जनताको नासो जनतालाई नै फिर्ता गरेको’ घोषणा गरेका थिए ।

माओवादी युद्ध र १९ दिनसम्म चलेको जनआन्दोलनको बलमा पुनर्स्थापित भएको संसदले नेपाललाई गणतान्त्रिक देश घोषणा गर्‍यो र २०४ वर्ष लामो राजतन्त्र समाप्त भयो । ज्ञानेन्द्र शाह नेपालको शाहवंशीय अन्तिम राजा बन्न पुगे ।

ज्ञानेन्द्र सफल नहुने प्रचण्डको दाबी

गणतान्त्रिक शासन व्यवस्थामा पनि वर्तमान राजनीतिक दल र तिनका नेताहरुप्रति जनतामा असन्तुष्टि रहेकाले त्यसको फाइदा उठाउने उद्देश्यले राजावादीहरु सक्रिय हुने प्रयासमा छन् ।

तर प्रचण्ड राजावादीहरु बीचमा फुट भएकाले उनीहरु सफल नहुने जिकिर गर्छन् । उनले भने, ‘१५–२० हजारको (ज्ञानेन्द्र शाहका समर्थकको) जुलुस के भएको थियो, राजावादीहरुमा अहिले कति गुट छन्, बाहिर तानातान भएको देखिएको छ ।’

राजासंस्था पुनर्स्थापनाको पक्षमा रहेकाहरुले संवैधानिक राजतन्त्रको माग गर्दै र्‍याली, जुलुस लगायतका गतिविधि गर्दै आएका छन् । तर प्रचण्डले उनीहरुको माग पूरा गर्न ‘असम्भव’ भएको बताए ।

‘पहिलो त संविधानतः मिल्दैन यो । हामी जहाँ आइसकेका छौं, त्यहाँबाट पछाडि फर्किने हुनै सक्दैन,’ प्रचण्डले भने, ‘नेपालका सबै जाति, क्षेत्र, समुदाय उत्पीडित वर्गले जे अधिकार पाएका छन् त्यो खोस्नेतिर जान्छ यो, त्यो हुन सक्दैन । इम्पोसिबल ।’

प्रकाशित मिति: Mar 24, 2025

प्रतिक्रिया दिनुहोस्