Logo
१८ चैत्र २०८१, मंगलबार
(March 21, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाजामा हवाईसँगै स्थल आक्रमण बढाउँदै इजरायल

जेरुसलेम — युद्धविराम सम्झौताको बेवास्ता गर्दै गाजापट्टीमा हवाई आक्रमण थालेको इजरायलले बिहीबारदेखि स्थल आक्रमण पनि सुरु गरेको छ । इजरायली सेनाले गाजामा बुधबार राति र बिहीबार बिहान गरेका हवाई आक्रमणमा कम्तीमा ८५ प्यालेस्टिनीहरू मारिएका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बीबीसीका अनुसार इजरायली रक्षा बल (आईडीएफले) दक्षिणी गाजाको खान युनुस र रफाह सहर तथा उत्तरी सहर बेत लाहियामा आक्रमण तीव्र पारेको हो । हमासले इजरायललाई लक्ष्य गरी तीन वटा क्षेप्यास्त्रहरू प्रहार गरेको आईडीएफले जनाएको छ । तर ती क्षेप्यास्त्रहरू इजरायली क्षेत्रमा प्रवेश गर्नुअघि नै निष्क्रिय पारेको आईडीएफले जनाएको छ ।

आईएफडीले गत सोमबार र मंगलबार गरेका आक्रमणमा ४ सय ३० भन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाएका थिए । मारिनेमध्ये सयभन्दा बढी बालबालिका तथा महिला छन् । ती आक्रमणमा ६ सय ६० जनाभन्दा बढी घाइते भएका थिए ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी क्षेत्रमा लडाइँ पुनः सुरु गर्ने बताएलगत्तै इजरायली रक्षा बल (आईडीएफ) ले थप आक्रमण गरेको हो । नेतान्याहुले हमासविरुद्ध ‘पूर्ण शक्तिका साथ लडाइँ गर्ने’ बताएका थिए । पछिल्ला आक्रमण ‘सुरुवात मात्र’ भएको उनको भनाइ छ ।

इजरायली रक्षामन्त्री इजरायल कात्जले प्यालेस्टिनी समूह हमासले बाँकी बन्धकहरू मुक्त नगरे गाजा क्षेत्रलाई पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी दिएका छन् । कात्जले गाजाका स्थानीयलाई क्षति पुर्‍याउने कुनै नियत नभएको तर बन्धकहरूको रिहाइमा कुनै सम्झौता नगर्ने चेतावनी दिएका सीबीएस न्युजले जनाएको छ ।

‘गाजाका बासिन्दाहरू, यो अन्तिम चेतावनी हो,’ उनले एक भिडियोमा भनेका छन्, ‘यदि सबै इजरायली बन्धकहरूलाई रिहा गरिएन र गाजाबाट हमासलाई हटाइएन भने इजरायलले तपाईंले पहिले कहिल्यै नगरेको शक्ति प्रयोग गर्नेछ । अमेरिकी राष्ट्रपतिको सल्लाह लिनुहोस् । बन्धकहरूलाई फिर्ता गर्नुहोस् र हमासलाई हटाउनुहोस् ।’ त्यसो गरेको खण्डमा गाजावासीका लागि अन्य विकल्पहरू खुला हुने उनले बताए ।

तीन दिनयता गरिएका आक्रमण १९ जनवरीमा दुई पक्षबीचको युद्धविराम सम्झौता लागू भएयताकै भीषण हो । उक्त सम्झौतामा युद्धविराम तीन चरणमा लागू हुने उल्लेख छ । युद्धविरामको पहिलो चरणमा नै दोस्रो चरणबारे वार्ता हुने भनिएको थियो । तर उक्त वार्ता हुन नसक्दा युद्ध पुनः चर्केको हो ।

प्रस्तावित दोस्रो चरणमा इजरायलले गाजाबाट सेना फिर्ता गर्ने उल्लेख छ । तर इजरायल र अमेरिकाले पहिलो चरणको अवधि बढाउन जोड दिएका थिए । उक्त अवधिमा थप प्यालेस्टिनी कैदीहरूको बदलामा बाँकी बन्धक रिहा गर्ने उनीहरूको प्रस्ताव थियो ।

तर त्यसमा हमास सहमत नभएपछि युद्ध पुनः चर्केको हो । नेतान्याहुले बाँकी बन्धकहरूको फिर्तीका लागि लडाइँ पुनः सुरु गर्नुपरेको बताएका छन् । तर बन्धकहरूका परिवारहरूले नेतान्याहुको निर्णयको आलोचना गरेका छन् । सरकारले आफ्ना प्रियजनहरूको बेवास्ता गरेको उनीहरूको भनाइ छ ।

नेतान्याहुले गाजापट्टीमा हमासविरुद्ध इजरायलले गरेको आक्रमण सुरुवात मात्र भएको चेतावनी दिएका छन् । इजरायली बन्धकको रिहाइका लागि राखेका सबै प्रस्ताव हमासले अस्वीकार गरेपछि पुनः आक्रमण सुरु गर्नुपरेको नेतान्याहुको दाबी छ । उनले हमासमाथिको आक्रमण अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनसँगको समन्वयमा थालेको पनि जनाएका छन् ।

तर हमासले भने इजरायलले एकपक्षीय रूपमा युद्धविराम उल्लंघन गरेको दाबी गरेको छ । मध्यस्थकर्ताहरू अमेरिका, इजिप्ट र कतारले युद्धविराम उल्लंघन गरेकामा इजरायललाई पूर्ण रूपमा जिम्मेवार ठहर्‍याउनुपर्ने हमासको माग छ । इजिप्टले इजरायली आक्रमणको निन्दा गरे पनि अन्य मध्यस्थकर्ताहरू भने मौन छन् । जसका कारण इजरायली सेनाले आक्रमण थप तीव्र पारेका कारण नेपाली युवा विपिनसहित बाँकी बन्धकहरूको रिहाइ थप अनिश्चित बनेको छ ।

गाजापट्टीको प्यालेस्टिनी सशस्त्र समूह हमासले ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा आक्रमण गरेसँगै दुई पक्षबीच युद्ध चर्केको हो । उक्त आक्रमणमा १२ सय जनाले ज्यान गुमाएका थिए भने २ सय ५१ जनालाई हमासले बन्धक बनाएर लगेको थियो । हमासको नियन्त्रणमा त्यसअघि नै ४ इजरायली थिए ।

७ सेप्टेम्बरको आक्रमणसँगै इजरायलले हमासलाई लक्ष्य गर्दै गाजा क्षेत्रमा भीषण आक्रमण सुरु गर्‍यो । ती आक्रमणमा करिब ४९ हजार प्यालेस्टिनीले ज्यान गुमाएका छन् । १ लाख १० हजारभन्दा बढी घाइते भइसकेका छन् । इजरायलतर्फ पनि करिब १४ सय जनाको ज्यान गएको छ । गाजाका ६० प्रतिशतभन्दा बढी संरचना ध्वस्त भएका छन् भने २० लाखभन्दा बढी स्थानीय विस्थापित भएका छन् ।

अस्थायी युद्धविराम र बन्दी आदानप्रदानका क्रममा हमासले हालसम्म १ सय ३९ बन्दी मुक्त गर्नुका साथै ८ शव हस्तान्तरण गरिसकेको छ । इजरायली सेनाले गरेका कारबाहीमा ८ बन्दीलाई मुक्त गराउनुका साथै ४१ शव बरामद गरेको छ ।

हमासको नियन्त्रणमा अझै ५९ जना बन्धक छन् । तीमध्ये ३५ जनाको ज्यान गइसकेको छ । हमासको नियन्त्रणमा रहेकामा १३ जना इजरायली सेना हुन् । तीमध्ये ९ जनाको ज्यान गइसकेको इजरायली प्रधानमन्त्री कार्यालयले जनाएको छ । ५ जना गैरइजरायली छन् । तीमध्ये ३ जना थाई, १ नेपाली र १ तान्जानियाली छन् । यी पाँच जनामध्ये नेपाली युवा विपिन जोशी र १ थाई नागरिक जीवितै छन् ।

१५ महिना लामो युद्धपछि इजरायल र हमास १५ जनवरीमा युद्धविराम सम्झौताका लागि सहमत भए । १९ जनवरीदेखि कार्यान्वयनमा आएको सम्झौताको पहिलो चरणमा ३३ इजरायली र ५ थाई बन्दी मुक्त भए । त्यसको बदलामा इजरायलले १९ सय प्यालेस्टिनीलाई रिहा गरेको छ ।

प्रकाशित मिति: Mar 21, 2025

प्रतिक्रिया दिनुहोस्