एक वर्षभित्र ५७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानी पुर्याउने सरकारको लक्ष्य
८ चैत, काठमाडौँ । सरकारले अबको एक वर्षभित्र ५७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानी पुर्याउने लक्ष्य राखेको छ । राष्ट्रिय सभामा मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा खानेपानी मन्त्री प्रदीप यादवले सरकारको लक्ष्यबारे जानकारी दिएका हुन् ।
मन्त्री यादवलाई सांसद भुवनबहादुर सुनारले हाल १९ प्रतिशत नागरिकसम्म मात्रै गुणस्तरीय पानीको पहुँच रहेको भन्दै यसमा सुधार गर्ने योजना के छ भनेर सोधेका थिए । शतप्रतिशत नागरिकलाई गुणस्तरीय खानेपानी कहिलेसम्म उपलब्ध गराउने सकिन्छ भनेर उनले प्रश्न गरेका थिए ।
जवाफमा मन्त्री यादवले २७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानीको पहुँच पुगेको तथ्याङ्क रहेको बताए । यसमा वृद्धि भएको तथ्यांक अद्यावधिक हुन बाँकी रहेको भन्दै उनले थप रफ्तारमा काम गर्ने सरकारको योजना रहेको सुनाए ।
‘एक वर्ष भित्रमा ५७ प्रतिशतमा स्वच्छ पानी पुर्याउनका निमित्त प्लान बनाएर अगाडि बढेका छौं’ उनले भने । यो लक्ष्य जटिल रहेको तर, काम अगाडि बढेको उनले बताए ।
नेपालमा ४२ हजार खानेपानी उपभोक्ता समिति रहेको उल्लेख गर्दै उनले उपभोक्ता समिति र दातृ निकायको सहयोग समेत लिएर लक्ष्य पुरा गरिने बताए ।
त्यसका लागि तीन तहका सरकारबीच समन्वय गरेर काम गरिने उनले बताए ।