कोशी प्रदेशसभाको अधिवेशन आज रातिबाट अन्त्य गर्न सिफारिस
विराटनगर। कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कोशी प्रदेश सभाको चालू छैटौँ अधिवेशन आज राति १२ बजेबाट अन्त्य गर्न सिफारिस गरेको छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री एवं कोशी सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले आजको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखसमक्ष अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको बताए ।
उनका अनुसार बैठकले कोशी प्रदेश जनस्वास्थ्य नियमावली २०८१ समेत स्वीकृति गर्ने निर्णय गरेको छ । त्यस्तै समस्याग्रस्त सहकारी संस्था वा संघ व्यवस्थापन समितिको सदस्य सचिवमा चन्द्रबहादुर कार्कीलाई तोक्ने निर्णय गरिएको छ।
यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका लागि १ करोड२८ लाख ६० हजार रकम बाँडफाँट गर्न स्वीकृत प्रदान प्रदान गरिएको छ।
मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको लागि अनुमानित सीमा १ अर्ब ५० करोड तथा राजस्व बाँडफाँटको अनुमान सीमा १ अरब १० करोड स्वीकृत गर्ने समेत निर्णय गरेको छ ।
आजको बैठकले उच्च तथा जिल्ला अदालत सुदृढीकरण का लागि १ करोड ५० लाख बाँडफाँट गर्न स्वीकृत प्रदान गरेको समेत जानकारी मन्त्री भण्डारीले जानकारी दिए ।
राजनीतिक तथा प्रशासन समितिबाट परिमार्जित आर्थिक मामिला तथा योजना मन्त्रालय र मातहतका कार्यालयको संगठन संरचना तथा दरबन्दी तेरिज २०८१ पनि बैठकले स्वीकृत गरेको छ।