कांग्रेसमा क्रियाशील सदस्यता नवीकरण शुल्क २०० रुपैयाँभन्दा बढी लिन नपाउने
६ चैत, काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरण गर्दा तोकिएको शुल्क भन्दा बढी लिन नपाउने निर्णय गरिएको छ ।
सदस्यता व्यवस्थापन समितिको बैठकले क्रियाशील सदस्यता नवीकरण गर्दा दुई सय रुपैयाँ भन्दा बढी लिन नपाउने निर्णय गरेको हो ।
विगतमा नवीकरणको क्रममा कतिपय स्थानमा नियमावलीमा तोकिएको रकम भन्दा बढी लिने गरिएको थियो ।
पार्टीले तोकेको शुल्क अनुसार प्रत्येक वर्ष नवीकरण गर्दा बुझाउनुपर्ने रकम दुई सय रुपैयाँ हो ।
पार्टीका संरचनाहरूले भवन बनाउने नाममा, पार्टीलाई सहयोग वापत लगायत विभिन्न शीर्षकमा शुल्क बढी लिने समेत गरेका थिए ।
महामन्त्री गगन थापाको नेतृत्वमा रहेको सदस्यता व्यवस्थापन समितिले कांग्रेसबाट पालिकामा जितेका जनप्रतिनिधिको लेबी रकम घटाउने निर्णय गरेको छ ।
कांग्रेसले पालिका अध्यक्ष/उपाध्यक्ष, नगरका प्रमुख र उपप्रमुखको लेबी पारिश्रमिकबाट २० बाट १० प्रतिशतमा झारिएको छ । वडाध्यक्षको हकमा १० बाट घटाएर ५ प्रतिशतमा लेबी रकम कायम गरिएको छ ।
प्रदेश समितिलाई क्रियाशील सदस्यता नवीकरणको अनुगमनमा खटाउने निर्णय गरिएको छ ।
‘क्रियाशील सदस्यता नवीकरणमा प्रदेश समितिको भूमिका बढाउन प्रदेश समितिलाई अनुगमनमा खटाउने निर्णय गरेका हौं,’ समिति सदस्य रसाइलीले भने ।
क्रियाशील सदस्यता स्थानान्तरण गर्दा बसाइँसराइ र मतदाता परिचयपत्र पेस गरेको व्यक्तिलाई मान्यता दिने निर्णय गरिएको छ ।
दुवैतिरका जिल्ला सभापतिले स्वीकृति दिएपछि मात्रै क्रियाशील सदस्यता स्थानान्तरको हुने व्यवस्थालाई संशोधन गरिएको छ ।
अनुशासन समितिले समयमा निर्णय नगर्दा क्रियाशील सदस्यता नवीकरण हुन नसकेका व्यक्तिका सन्दर्भमा महामन्त्री थापाले सभापति शेरबहादुर देउवा, शीर्ष नेता र अनुशासन समितिका सदस्यसँग छलफल गरेर छिटो टुंगाउन पहल गर्ने निर्णय भएको छ ।
बैठकले क्रियाशील सदस्यताको कार्ड अपुग भएका जिल्लाहरू डोल्पा, मुस्ताङ, बारा, अर्घाखाँची लगायतका जिल्लामा थप पठाउने निर्णय भएको छ ।
सदस्यता व्यवस्थापन समितिले विदेशस्थित सबै ३६ वटा जनसम्पर्क समितिलाई नवीकरण कार्ड वितरण गर्ने निर्णय लिएको छ ।