पाटन संयुक्त क्याम्पसमा नेविसंघ र अखिलबिच कुटाकुट
काठमाडौँ । पाटन संयुक्त क्याम्पसमा नेविसंघ र अनेरास्ववियुका विद्यार्थीहरूबिच कुटाकुट भएको छ ।
स्ववियु निर्वाचनका लागि फर्जी मतदाताले मतदान गरेको भन्दै विवाद सिर्जना भएपछि मंगलबार दुई संगठनका नेता तथा कार्यकर्ताबिच कुटाकुट भएको हो । एक जना विद्यार्थीको विद्यार्थी परिचयपत्रमार्फत सात जनासम्मले मतदान गरेको पाइएपछि विवाद सिर्जना भएको थियो ।
१०० जना विद्यार्थीले मतदान गरिसकेपछि विवाद सिर्जना भएर मतदान प्रक्रिया रोकिएको थियो । विवाद समाधान गर्न सर्वपक्षीय बैठक बसिरहेका बेला बाहिर नेविसंघ र अनेरास्ववियुका कार्यकर्ताबिच कुटाकुट भएको हो ।
निर्वाचन परिसर तनावग्रस्त बनेपछि यतिबेला निर्वाचन समितिको बैठक बसिरहेको छ भने अनेरास्ववियु लगायतका विद्यार्थी संगठनहरूले मतदान प्रक्रियामा सहभागी नहुने घोषणा गरेका छन् । उनीहरूले निर्वाचन समितिलाई ज्ञापनपत्र बुझाउँदै मतदान प्रक्रियाबाट बाहिरिएको घोषणा गरेका हुन् ।
नेविसंघ लगायतका अन्य विद्यार्थी संगठनहरूले भने हार्ने डर भएपछि अनेरास्ववियुले चुनाव विथोल्न खोजेको आरोप लगाएका छन् ।