Logo
३ चैत्र २०८१, सोमबार
(March 17, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसईईलाई मर्यादित बनाउन मन्त्री भट्टराईको निर्देशन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्देशन दिएकी छन् । भर्चुअल माध्यमबाट मधेस प्रदेशका शिक्षा विकास तथा समन्वय इकाईका प्रमुखहरूसँगको बैठकमा मन्त्री भट्टराईले परीक्षा सञ्चालनमा कुनै पनि कमजोरी स्वीकार्य नहुने स्पष्ट पारिन ।

मन्त्री भट्टराईले स्थानीय र प्रदेश सरकारसँग समन्वय र सहकार्यलाई विशेष जोड दिँदै परीक्षालाई सरकार र जनताप्रति जवाफदेही ढंगले सञ्चालन गर्न आग्रह गरिन । नियमविपरीत कार्य गर्ने जो कोहीलाई पनि कठोर कारबाही गरिने बताउँदै उनले परीक्षाको मर्यादा कायम राख्न नसकेमा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुखहरू समेत जिम्मेवार हुनुपर्ने बताइन ।

यस वर्षको एसईई चैत ७ देखि १९ गतेसम्म सञ्चालन हुदैछ । देशभरका २ हजार ७९ परीक्षा केन्द्रमा हुने परीक्षाका लागि पाँच लाख १४ हजार ७१ विद्यार्थीले परीक्षा दिदैछन् । यो वर्ष अघिल्लो वर्षभन्दा ४९ हजार २८६ विद्यार्थी थपिएका छन्

परीक्षालाई थप समावेशी बनाउन यस वर्ष बाल सुधार गृह र कारागारमा समेत गरी तीनवटा विशेष परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी र अन्य पाठ्यक्रमका विषयहरूको परीक्षा हुनेछ भने चैत ८ गते नेपाली, चैत १० गते गणित, चैत १२ गते विज्ञान, १३ गते सामाजिक शिक्षा र बाँकी २ दिनमा ऐच्छिक विषयहरूको परीक्षा सञ्चालन हुनेछ ।

परीक्षाको गुणस्तर कायम राख्न र नक्कललाई निरुत्साहित गर्न मन्त्रालयले विशेष निगरानीको व्यवस्था गरेको छ । मन्त्री भट्टराईले सबै विद्यार्थीले न्यायोचित अवसर पाउनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै परीक्षालाई सफलतापूर्वक सम्पन्न गर्न सबै सरोकारवाला निकायहरूको सहयोगको अपेक्षा गरिन् । परीक्षाको सुरक्षा, सामग्री व्यवस्थापन र अन्य आवश्यक तयारी अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: Mar 17, 2025

प्रतिक्रिया दिनुहोस्