गाईलाई कुटीकुटी नदीमा हेल्नेहरू प्रशासनको निशानामा
४ चैत, काठमाडौं । गाईलाई निर्ममतापूर्वक कुटीकुटी कर्णाली नदीमा हेल्ने बाजुराको जगन्नाथ गाउँपालिका वडानम्बर ६ का बासिन्दा प्रहरीको निशानामा परेका छन् । जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई वडाअध्यक्षसहित सदरमुकाम झिकाउन प्रहरीलाई निर्देशनसमेत दिएको छ ।
स्थानीय एक व्यक्तिको मलामी गएकाहरुले एउटा गाई कुट्दै कर्णाली नदीमा हेल्ने प्रयास गरेको भिडियो सामाजिक सन्जालमा सार्वजनिक भएको थियो । वडाध्यक्ष धनबहादुर सार्कीका अनुसार कुनै मान्छेको मृत्यु हुँदा गौदान गर्ने र गौदान गरेको गाईलाई यसैगरी कर्णाली नदी पारी लेखेट्ने गरिएको छ ।
त्यो समाचार अनलाइनखबरले सार्वजनिक गरेपछि जिल्ला प्रशासन कार्यालय र प्रहरीले चासो व्यक्त गरेको हो ।
बाजुराका प्रमुख जिल्ला अधिकारी मेघानाथ पाध्याले गाईलाई हिंस्रक व्यवहार गर्नेहरुलाई झिकाउन प्रहरीलाई निर्देशन भइसकेको बताए ।