Logo
२ चैत्र २०८१, आईतबार
(March 16, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्थमन्त्री पौडेलले संसदमा भने- राजस्वले साधारण खर्च धान्नसमेत धौधौ परिरहेको छ

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको राजस्व संकलनले साधारण खर्चसमेत धान्न नसक्ने अवस्था आएको बताएका छन् । संसद बैठकमा आज बोल्दै उनले अनिवार्य दायित्वहरुमा समेत न्यून रकम विनियोजन गर्नुपरेको बाध्यता सुनाए ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वलाई संशोधन गर्न ल्याएको विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा अर्थमन्त्रीले यस्तो बताएका हुन् ।

उनले भने, ‘केही समयदेखि राजस्वले साधारण खर्च धान्न धौधौ भएको छ । यो सच्चाइलाई यहाँ राख्दा हुन्छ जस्तो लाग्छ । चालु आवको विनियोजनमा कैयौं अनिवार्य दायित्वका शीर्षकहरुमा समेत न्यून विनियोजन गरेर बजेट प्रस्तुत गरिएको छ ।’

३१ प्रतिशतको राजस्व वृद्धिको लक्ष्यमा आधारित भएर बजेट प्रस्तुत गर्दा पनि कैयौं अनिवार्य दायित्वहरुमा पूरा विनियोजन गर्न नसकिएको अर्थमन्त्री पौडेलको भनाइ छ । कैदीबन्दीको सिदादेखि पेन्सन, तलब जस्ता दायित्वलाई पनि न्यून विनियोजन गरेर बजेट प्रस्तुत गरिएको उनले बताए ।

उनले भने, ‘राजस्वले साधारण खर्च धान्न धौधौ भएको अवस्थामा हामी भएकाले बजेट निर्माण गर्दा अनुशासनतर्फ फर्किन विलम्ब गर्नुहुँदैन । बजेट निर्माणमा अनुशासनतर्फ फर्किने कुरालाई गम्भीरतापूर्वक मनन गर्नुपर्छ । यसकै लागि यो विधेयक ल्याइएको हो ।’

सीमित स्रोतलाई उच्च प्रतिफल सुनिश्चित हुने गरी कसरी विनियोजन गर्ने भन्ने उद्देश्यमा केन्द्रित भएर संशोधन विधेयक आएको अर्थमन्त्री पौडेलले प्रष्टीकरण दिए ।

प्रकाशित मिति: Mar 16, 2025

प्रतिक्रिया दिनुहोस्