छिमेकी भारतमा बर्डफ्लु देखिएपछि सिमा क्षेत्रमा कडाइ, ७९ क्यारेट सेतो अन्डा नष्ट
पर्सा । पर्सा जिल्लामा बर्डफ्लु संक्रमण रोकथामका लागि विशेष अभियान सुरू गरिएको छ ।
छिमेकी भारतमा बर्डफ्लु पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय, पर्साले उच्च सतर्कता अपनाउँदै सुरक्षा उपायहरू अवलम्बन गर्न निर्देशन दिएको छ । सोमबार बसेको सुरक्षा तथा सरोकारवाला निकायको बैठकले भारतबाट भित्रिन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै बजार अनुगमन समिति गठन गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार गठित अनुगमन समितिले वीरगंजका विभिन्न स्थानमा अनुगमन गर्दै बिक्रीका लागि राखिएका ७९ क्यारेट सेता अन्डा नियन्त्रणमा लिएर नष्ट गरेको छ । यसअघि सरकारले बर्डफ्लु संक्रमण बढेपछि पशुपक्षीजन्य पदार्थको आयातमा प्रतिबन्ध लगाएको थियो ।
तर, खुला सीमाका कारण अवैध रूपमा यस्ता वस्तुहरू भित्रिन सक्ने सम्भावना बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले निगरानी बढाएको हो । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले सीमाक्षेत्रबाट भित्रिन सक्ने जोखिमयुक्त वस्तुहरूको नियमित अनुगमन गर्न तथा आवश्यक परेमा कडा कदम चाल्न निर्देशन दिएका छन् ।
बर्डफ्लु नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी निकायबीच सहकार्य गर्दै थप उपायहरू अवलम्बन गरिने प्रशासनले जनाएको छ ।