नगरपालिकाले अध्ययनका लागि उपलब्ध गरायो शैक्षिक ऋण
काठमाडौं, ७ फागुन । डडेल्धुराको परशुराम नगरपालिकाले प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि ३० जना विद्यार्थीलाई शैक्षिक ऋण उपलब्ध गराउने भएको छ । नगरपालिकाको शैक्षिक ऋण निर्देशिका २०८१ बमोजिम शिक्षा समितिको सिफारिसअनुसार ३० जनालाई शैक्षिक ऋण उपलब्ध गराइने भएको हो । शैक्षिक ऋण प्राप्त गर्ने विद्यार्थीहरुले मञ्जुरीनामामा हस्ताक्षर गर्ने परिवारका सदस्य लिई १५ दिनभित्र नगरपालिकाको कार्यालयमा उपस्थित हुन भनिएको छ । नगरभित्रका विद्यार्थीलाई ५० हजारदेखि ५ लाखसम्म ऋण उपलब्ध गराइएको छ ।
नगरप्रमुख भरत बडायर जोशीका अनुसार शैक्षिक ऋण दिँदा अध्ययन गरिरहेको भन्दा तल्लो तहको सर्टिफिकेट धितो राखिन्छ । यसरी नगरले उपलब्ध गराएको ऋणमा कुनै व्याज लाग्ने छैन । विद्यार्थीले आफ्नो अध्ययनको अन्तिम वर्ष पूरा गरेको चार वर्षभित्र शैक्षिक ऋण तिरिसक्नुपर्ने छ । चार किस्तामा ऋण तिर्न सकिने व्यवस्था मिलाइएको पनि नगरप्रमुख जोशीले बताए ।
‘हामीले आवेदन परेको मध्यबाट ३० जनालाई शैक्षिक ऋण उपलब्ध गराउने निर्णय गरेका छौं । अध्ययनरत संस्थामा तिर्नुपर्ने शुल्कको आधारमा उनीहरुलाई कति ऋण उपब्ध गराउने भनी निर्धारण गरिएको हो । यसरी शैक्षिक ऋण लिँदा कुनै व्याज तिर्नुपर्दैन । अध्ययन सकिएको अन्तिम वर्षदेखि चार वर्षभित्र ऋण तिरिसक्नुपर्ने छ । विद्यार्थीले अध्ययन गरिरहेको तहभन्दा तल्लो तहको सर्टिफिकेट धितो राखेर ऋण दिइन्छ,’– संक्षिप्त कुराकानीमा नगरप्रमुख जोशीले भने ।
जोशी २०७९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट नगरप्रमुखमा निर्वाचित भएका थिए । जोशीले त्रिचन्द्र कलेजबाट फिजिक्समा स्नातक र चीनबाट एड्मोस्फेरिक फिजिक्समा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् । शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराउने उनको चुनावी एजेण्डा नै रहेको थियो ।