Logo
१९ चैत्र २०८१, बुधबार
(February 18, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केआईआईटी प्रकरण : आरोपित हिरासतमा, मोबाइल जफत गरेर प्रमाण खोज्दै प्रहरी

६ फागुन, काठमाडौं । भारतको ओडिसास्थित केआईआईटी कलेजमा प्रकृति लम्सालको मृत्यु प्रकरणमा पक्राउ परेका अड्विक श्रीवास्तवको मोबाइल प्रहरीले जफत गरेको छ ।

लम्साललाई आत्महत्या गर्न उक्साहट गरेको आरोपमा पक्राउ परेका उनलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको भुवनेश्वर प्रहरीले जनाएको छ । साथै, सोमबारबाट उनको मोबाइल प्रमाणका रुपमा जफत गरिएको भनिएको छ ।

प्रहरीले प्रकृतिको मोबाइल, ल्यापटप र एउटा डायरी पनि लगेको छ । त्यसको डिजिटल जाँच गरेर यो अनुसन्धानमा प्रमाणहरू जुटाइने भनिएको छ ।

२० वर्षीया लम्साल आइतबार अपराह्न होस्टलमा मृत अवस्थमा भेटिएकी थिइन् । त्यसपछि श्रीवास्ताव भागेर कोलकातास्थित घर जान खोजेका थिए । तर, व्यापक दबाबबीच उनी विमानस्थलबाटै पक्राउ परेका थिए ।

आरोपी अड्विक सोही कलेजमा बि-टेक (मेकानिकल) तेस्रो वर्षमा अध्ययनरत थिए । प्रकृतिलाई न्याय माग्दै गरिएको प्रदर्शनलाई प्रशासनले दमन गर्न खोजेपछि यो प्रकरणले थप उग्र रुप लिएको थियो ।

नेपालको प्रतिनिधिसभादेखि ओडिसाको विधानसभासम्ममा यो प्रकरणले अहिले प्रवेश पाएको छ । त्यहाँका सांसद्हरूले कलेजको लापरबाहीका कारण अन्तर्राष्ट्रिय रुपमै ओडिसाको निन्दा भएको भनेका छन् ।

प्रकाशित मिति: Feb 18, 2025

प्रतिक्रिया दिनुहोस्