Logo
१६ फाल्गुन २०८१, शुक्रबार
(January 31, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आशिका तामाङलाई बयानका लागि अदालत लगियो

१८ माघ, काठमाडौं । आफूलाई अभियन्ता दाबी गर्ने आशिका तामाङलाई बयानका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले तामाङलाई बयानका लागि अदालत पेश गरिएको बताए । ‘बयानका लागि अदालत पेश गरेका छौं । बाँकी काम अब अदालतबाट हुनेछ’, नेउपानेले भने ।

उनीविरुद्ध प्रहरी वृत्त जगातीले आपराधिक उपद्रवको कसुरमा अनुसन्धान गरेको थियो ।

मुलकी फौजदारी अपराध संहिताको परिच्छेद २६ मा आपराधिक उपद्रवसम्बन्धी उल्लेख छ । ऐनको दफा २८५ मा कसैले आपराधिक उपद्रव गर्न वा गराउन नहुने उल्लेख गरिएको छ । उक्त कसुर गर्नेलाई ५ वर्षदेखि १२ वर्षसम्म कैदको व्यवस्था छ ।

तामाङले ४ असोज २०८१ मा सूर्यविनायक नगरपालिका–९ बाट वडा नं. १० मा जाने क्षेत्रमा रहेको झोलुङ्गे पुल चढ्दा लाग्ने शुल्कबारे विरोध गर्दै सामाजिक सञ्जालमा भिडियो हालेकी थिइन् । त्यसको तीन दिनपछि उनले साँगाको झोलुङ्गे पुल तरेवापत लिइने शूल्कको रसिदसमेत जलाइदिएकी थिइन ।

सोही विषयमा आशिकाविरुद्ध सूर्यविनायक नगरपालिकाले प्रहरी वृत्त जगातीमा आपराधिक उपद्रवको जाहेरी दिएको थियो ।

प्रहरी वृत्त गौशालाबाट अभद्र व्यवहारको कसुरमा मुद्दा चलेकी उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार १० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यसपछि उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो ।

प्रकाशित मिति: Jan 31, 2025

प्रतिक्रिया दिनुहोस्