Logo
१७ माघ २०८१, बिहीबार
(January 30, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीद्वारा चेम्बर एक्स्पो उद्घाटन, मूल नारा ‘आफू सप्रिउँ र देशलाई पनि सपारौं’ (फोटोफिचर)

काठमाडौँ, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो मात्रामा उत्पादन गरेर छिमेकी भारत र चीनलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउने अवस्था सृजना गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्शद्वारा भृकुटीमण्डपमा आयोजित आठौँ अन्तर्राष्ट्रिय चेम्बर एक्स्पोको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले निर्यात बढाउन ठूलो मात्रामा उत्पादन गर्न र कुन चिज कहाँ बिक्री हुन्छ भन्ने थाहा पाएर त्यसअनुसारको व्यापारवृद्धि गर्न सक्नुपर्ने बताए ।

पूर्वाधार विकासको क्रम जारी रहेकाले नेपाल अझ तीव्रताका साथ अगाडि बढ्ने बताउँदै प्रधानमन्त्री ओलीले बहुतै असहज राजनीतिक अस्थिरताजस्ता कुराले अर्थतन्त्रलाई प्रतिकूल असर परेका बेला त्यसलाई लयमा फर्काउन नयाँ सरकार बनेकाले सन् २०२६ मा नेपाललाई मध्यमस्तरको आय भएको मुलुकमा स्तरोन्नती गर्ने तयारीमा भएको दाबी गरे ।

पूर्वाधार विकासका क्रममा सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाउँदै अन्य विमानस्थल विस्तारका साथै नदीको बाटोबाट समुद्रसम्म पहुँच विस्तार गराउने काम भइरहेकाले यी सबै उद्योग–व्यवसायको विकास तथा मुलुकलाई सम्पन्न बनाउनका लागि थालिएको उनले जानकारी गराए ।

‘अहिले हामीले व्यापारको जुन आँकडा तयार गरिरहेका छौँ । त्यो वास्तविक छैन । खपतका लागि किनेको वा आयात गरेको कार्यलाई मात्रै व्यपार मान्न सकिँदैन ।’ प्रधानमन्त्री ओलीले भने, ‘हामी विज्ञान र प्रविधिको प्रयोग गरेर विभिन्न सामाजिक क्रियाकलाप र उत्पादन बढाउन लाग्नुपर्नेछ । अहिलेको सरकार अर्थतन्त्रको विकासका लागि अत्यन्तै गम्भीरताका लागि लागिरहेको छ,’– उनले भने ।

नेपाललाई न्यून आय भएको मुलुकबाट स्तरोन्नति गराउन सबै जुट्नुपर्ने आग्रह गर्दै प्रधानमन्त्री ओलीले आफू सप्रिउँ र देशलाई पनि सपारौँ भन्ने लक्ष्यका साथ चेम्बर एस्क्पो भएकामा खुसी व्यक्त गरे ।

 

प्रकाशित मिति: Jan 30, 2025

प्रतिक्रिया दिनुहोस्