समाजवादी युवा मोर्चाले भ्रष्टाचार, कालोबजारी र महँगीविरुद्ध प्रदर्शन गर्ने
काठमाडौं, १७ माघ । समाजवादी मोर्चामा आवद्ध राजनीतिक दलका युवा संगठन समाजवादी युवा मोर्चाले भ्रष्टाचार, कालोबजारी, महँगीको विरुद्धमा र जनजीविकाका पक्षमा संयुक्त प्रदर्शन गर्ने भएको छ ।
नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपाल, नेकपा (एकीकृत समाजवादी) को युवा संगठन युवा संघ नेपाल, विप्लव नेतृत्वको नेकपाको युवा संगठन युवा संगठन नेपाल र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीको युवा संठन नेपाल समाजवादी युवा संघले माघ १८ गते, दिउँसो १ बजे, माइतीमण्डलादेखि नयाँ बानेश्वरसम्म संयुक्त प्रदर्शन गर्ने भएको हो ।
र्तमान सरकारले जनविरोधी गतिविधिहरू गरिरहेको निष्कर्षसहित खबरदारीका लागि संयुक्त प्रदर्शन गर्ने निर्णय गरिएको वाईसीएल नेपालका अध्यक्ष सुवोधराज सेर्पालीले बताए ।
‘वर्तमान सरकारको गठन नै लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध भएको छ । यो सरकार न देश निर्माण र अर्थतन्त्र सुधारको पक्षमा इमानदार छैन । बरु माफीया, दलाल र विचौलियाहरुको सेटिङको काम गर्न अनेक तानाबाना बुनिरहेको छ । सम्मानित संसद छलेर अध्यादेशको बाटोबाट निरंकुशता लाद्न खोजेको छ ।
दिनानुदिन महन्गी, कालोबजारीले आम मानिसको जनजीविका कठिन बन्दै गएको छ । यस्तो बेला आम नागरिकको सवाल उठाउनु हाम्रो दायित्व हो । सरकारलाई खबरदारी गर्न र सचेत गराउन संयुक्त प्रदर्शन गर्दैछौं,’– रिपोर्टर्स नेपालसँगको संक्षिप्त कुराकानीमा सेर्पालीले भने ।
वर्तमान सरकार बनेदेखि नै भ्रष्टाचार, महँगी र कालोबजारी मौलाएको र जनजीविका अस्तव्यस्त बनेको समाजवादी युवा मोर्चाको निष्कर्ष रहेको सेर्पालीले बताए । भ्रष्टाचार, महँगी र कालोबजारी नियन्त्रण र आम जनताको जनजीविकाको पक्षमा सरकारले तत्काल ठोस कदम नचालेको खण्डमा थप संघर्ष र चरणबद्ध आन्दोलन गर्ने समाजवादी युवा मोर्चाले चेतावनी दिएको छ ।