प्रेस सेन्टर नेपाल २१ औँ वर्षमा, यस्तो छ इतिहास
काठमाडौँ । क्रान्तिकारी पत्रकारहरूको संस्था प्रेस सेन्टर नेपाल आजबाट २० वर्ष पूरा जरी २१ औँ वर्षमा प्रवेश गरेको छ । माओवादी जनयुद्धको क्रममा २०६१ साल माघ १५ गते स्थापना भएको अखिल नेपाल क्रान्तिकारी पत्रकार सङ्गठन विभिन्न आरोह अवरोह तथा सङ्गठनहरूबिच एकता, विभाजनका प्रक्रियाहरूपछि अहिले प्रेस सेन्टर नेपालको रूपमा क्रियाशील छ । प्रेस सेन्टर नेपालले स्थापना दिवसको अवसरमा देशव्यापी कार्यक्रमहरूसहित मनाउन लागेको छ ।
सो अवसरमा सङ्घीय राजधानी काठमाडौँमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ भने विभिन्न जिल्लाहरूमा रक्तदान, अन्तरक्रिया, सहिद परिवार भेटघाट, सरसफाइ लगायतका गतिविधि र कार्यक्रमहरू आयोजना गरिएको केन्द्रीय महासचिव सन्तोष पौडेलले जानकारी दिए । उनले स्थापना दिवसकै सन्दर्भमा केन्द्रीय समिति बैठक आयोजना गरिएको पनि बताए । केन्द्रीय समिति बैठकले सङ्गठनको पाँचौँ राष्ट्रिय महाधिवेशनको बारेमा ठोस निर्णय र कार्यतालिका सार्वजनिक गर्ने पनि उनले बताए ।
यस्तो छ प्रेस सेन्टरको इतिहास
२०७३ असोज १३ र १४ गते काठमाडौँमा प्रेस सेन्टर नेपालको एकताको राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो । सङ्गठनका संयोजक गोविन्द आचार्यको अध्यक्षता र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा भएको एकताको महाधिवेशनले महेश्वर दाहालको अध्यक्षतामा ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्यो । उक्त महाधिवेशनलाई प्रेस सेन्टर नेपालको दोस्रो महाधिवेशन मानिएको छ ।
२०७६ पुस १२ गते प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालको एकताको भेला भयो । दुई सङ्गठनको एकतापछि सङ्गठनको नाम प्रेस सङ्गठन नेपाल रह्यो । प्रेस सङ्गठन नेपालको एकताको प्रथम राष्ट्रिय भेलाबाट प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहालको संयोजकत्वमा २४९ सदस्यीय केन्द्रीय समिति र लेखा तथा अनुशासन आयोग गठन गर्यो । सङ्गठनको सहसंयोजकमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत रहे ।
प्रेस सङ्गठन नेपालको प्रथम एकता भेला प्रेस सेन्टरका अध्यक्ष दाहालको अध्यक्षतामा भएको र सो भेलाबाट दाहाल संयोजकमा चुनिएकोले उक्त भेलालाई प्रेस सेन्टर नेपालको तेस्रो महाधिवेशनको रूपमा लिइएको छ ।
पुनर्गठन र पुनः प्रेस सेन्टर नेपाल
प्रेस सङ्गठन नेपालको गठन भएको एकवर्षपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते प्रतिनिधिसभाको विघटन गरे । उक्त विघटनलाई प्रेस सङ्गठन नेपालले असंवैधानिक र प्रतिगामी भएको ठहर गर्यो । र, प्रेस सङ्गठनले प्रतिगमनको विरुद्धमा सबै प्रकारको सङ्घर्ष गर्यो ।
प्रेस सङ्गठनभित्रको सानो समूहले प्रतिनिधिसभा विघटनलाई सही भन्यो । सोही एजेन्डामा सङ्गठनका सहसंयोजक गणेश बस्नेतले आफ्नो संयोजकत्वमा सानो समूह लिएर प्रेस सङ्गठनको घोषणा गरे । र, उनले प्रेस सङ्गठनमा विभाजन ल्याए । सङ्गठनबाट बस्नेतसहित केही बाहिरिएपछि २०७७ फागुन ११ गते प्रेस सङ्गठन नेपालको केन्द्र, प्रदेश र जिल्लाका सबै समितिहरूको पुनर्गठन भयो ।
२०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपालाई भङ्ग गर्दै नेकपा (माओवादी केन्द्र) र नेकपा एमाले पुनस्र्थापित गरिदिएपछि प्रेस सङ्गठन नेपालको पुनर्गठित समितिमा रहेका तत्कालीन प्रेस चौतारी नेपालबाट एकतामा जोडिएकाहरू प्रेस सङ्गठन नेपालबाट अलग भए । नेकपा माओवादी केन्द्रको पुनर्स्थापना भएपछि पनि सङ्गठनको नाम प्रेस सङ्गठन नेपाल नै कायम गरेर सङ्गठनात्मक गतिविधि अगाडि बढ्यो ।
सङ्गठनको महाधिवेशन तयारीका सम्बन्धमा प्रेस सङ्गठन नेपालको केन्द्रीय समितिको बैठक २०७८ असोज १६ गते काठमाडौँमा बस्यो । बैठकले सङ्गठनको केन्द्रीय समितिलाई चौथो महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्दै प्रेस सङ्गठन नेपालको नामलाई परिवर्तित गरी पुनः प्रेस सेन्टर नेपाल रहने गरी सङ्गठनको अन्तरिम विधान पारित गर्यो । महेश्वर दाहालको संयोजकत्वमा आयोजक समिति गठन गरियो ।
सङ्गठनको चौथो महाधिवेशन २०७८ मङ्सिर १८ देखि १९ सम चितवनको भरतपुरमा सम्पन्न भयो । महाधिवेशनले विष्णु सापकोटा जुगलको नेतृत्वमा १ सय ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्यो । त्यसैगरी सङ्गठनको २०७९ साउन १३ र १४ गते काठमाडौँमा सम्पन्न दोस्रो पूर्ण बैठकबाट महासचिवमा सन्तोष पौडेल सहित १ वरिष्ठ उपाध्यक्ष, १९ उपाध्यक्ष, १० उपमहासचिव, २६ सचिव, १ कोषाध्यक्ष र एक सह कोषाध्यक्ष रहेको ६१ सदस्यीय पदाधिकारी चयन गरेको थियो ।