रवि पक्षका वकिलको बहस सकियो, आजै आदेश आउने सम्भावना
रूपन्देही । सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा रूपन्देही जिल्ला अदालतमा रवि लामिछाने तर्फका कानून व्यवसायीले बहस सकेका छन् ।
आज वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, पशुपति भण्डारी, नारायण कंडेलले बहस गरे । अब सरकारी वकिलले जवाफी बहस सकेपछि आदेश आउने छ । अदालत स्रोतका अनुसार आजै आदेश आउने सम्भावना बढी छ ।
सहकारी ठगी र संगठित अपराधको अभियोग लागेका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री लामिछाने मुद्दाको प्रतिवाद गर्न आज चौथो दिन पनि अदालतमा उपस्थित थिए ।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा मुद्दा परेपछि उनले सोही दिन बयान दिएर परिवार र वकिलको जिम्माजमानीमा बस्दै आएका छन् ।
न्यायाधीश योगीको इजलासमा विहीबार उच्च र जिल्ला सरकारी वकिल कार्यालयका वकिलहरूले, शुक्रबार जाहेरीतर्फका वकिल र प्रतिवादीका वकिलले बहस गरेका थिए । शुक्रबार बहस नसकिएपछि आज आइतबारका लागि पनि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । बुधबारदेखि लामिछाने होटलमा बसेर अदालतमा नियमित हाजिर भएर मुद्दाको प्रतिवाद गर्दै आइरहेका छन् ।
बहस सकिएपछि न्यायाधीश योगीले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिने वा सामान्य तारेखमा रिहाइ गर्ने भन्ने आदेश दिने सक्ने अदालतका श्रेस्तेदार यज्ञमूर्ती ज्ञवालीले बताए ।