प्रतिवादीतर्फका वकिलको प्रश्न- निक्षेपकर्ताको बचत सुरक्षण गर्ने जिम्मा रविको हो ?
११ माघ, काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा प्रतिवादीको तर्फबाट बहसमा उत्रिएका वकिलहरूले सहकारीका निक्षेपकर्ताको बचत सुरक्षण गर्ने जिम्मा रास्वपा सभापति रवि लामिछानेको नभएको जिकिर गरेका छन् ।
शुक्रबार जिल्ला अदालत रुपन्देहीमा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भएको थुनछेक बहसका क्रममा रविका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुरेन्द्र थापाले यस्तो जिकिर गरेका हुन् ।
‘सहकारी ऐनले निक्षेपकर्ताको बचत सुरक्षा गर्ने जिम्मा सञ्चालकको भनेर स्पष्ट भनेको छ,’ थापाले इजलासमा भनेका छन्, ‘तर मुद्दा चाहिँ सञ्चालक नै नभएको मान्छेलाई लगाइयो । ऋण दिने नदिने निर्णय सञ्चालकले धितो लिएर ऋिण उठ्ने सुनिश्चित भएपछि गर्ने हो ।’
साथै, उनले निवेदन नै नगइ सहकारीको पैसा ऋणको रुपमा निश्कासन हुन्छ भने त्यो सहकारी कोष अपचलन भएको तर अपचलन गर्ने व्यक्ति रवि नभएको बहसका क्रममा भने ।
‘ऋण निवेदन नै नगई सहकारीको पैसा ऋणको रूपमा निश्कासन हुन्छ भने त्यो सहकारी कोष अपचलन हो,’ वरिष्ठ अधिवक्ता थापाले भनेका छन्, ‘तर अपचलन गर्ने संचालक हुन रवि लामिछाने होइनन् । अपचलन गर्ने सञ्चालक बाहेकका व्यक्ति हुनै सक्दैनन् ।’
सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए । बुधबार दिनभर बयान भएको थियो भने बिहीबारबाट थुनछेक बहस भइरहेको छ ।
बिहीबार ८ जना सरकारी वकिलहरूले बहस गरेका थिए । शुक्रबार सुरुमा जाहेरवालाका तर्फबाट वकिलहरूको बहस भएको थियो । त्यसपछि प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त र सुरेन्द्र थापाले बहस गरेका छन् ।
थुनछेक बहस सकिएपछि जाहेरवाला र प्रतिवादीतर्फका वकिलहरूले जवाफी बहस गर्नेछन् । त्यसपछि अदालतले आदेश जारी गर्नेछ ।