लहानमा मेयरविरुद्ध किसान आन्दोलित, पुतला दहनदेखि चक्का जामसम्मका कार्यक्रम सार्वजनिक
लहान । ऐतिहासिक खुटी नहरको अस्तित्व मासेर ढल बनाउन थालेपछि लहान नगरपालिकाका मेयर महेश चौधरीविरुद्ध महोत्तरीका किसानहरुले आन्दोलन तीब्र बनाएका छन् ।
मेयर चौधरीविरुद्ध किसानहरु बिहीबार नगरपालिकाको मूल गेटमा आठ घन्टा धर्ना बसे । कठ्याङ्ग्रिँदो चिसोको पर्वाह नगरी किसानहरु कार्यालय समय बिहान १० देखि साझ ५ बजेसम्म धर्नामा बसेका थिए । तराईमा अहिले घर बाहिर निस्कनसमेत नसक्ने गरी शीतलहर चलिरहेको छ ।
बिहीबार दिनभर धर्नामा बसेका किसानहरुले आज मेयर चौधरीको पुतला दहन गर्ने, भोलि विशाल जनप्रदर्शन र यातायात अवरुद्ध गर्ने कार्यक्रम तय गरेको संघर्ष समिति अध्यक्ष धर्मराज चौधरीले जानकारी दिए ।
गत कार्तिक ७ गतेदेखि नहर संरक्षणका लागि नगरपालिकाविरुद्ध किसानहरुले विभिन्न चरणको आन्दोलन गर्दै आएका छन्, तर मेयर चौधरीले किसानहरुको माग र अदालतको आदेशसमेत लत्याएर भूमाफियसँगको मिलेमतामा नहर मास्न लागिपरेकाले आन्दोलन गर्नुपरेको आन्दोलनका अगुवा हेमन्त यादव बताउँछन् ।
उच्च अदालत राजविराजले साबिक नहरको संरचना नबिग्रिने गरी ढल निकासको काम अगाडि बढाउन नगरपालिकाका नाममा आदेश जारी गरेको छ, तर मेयर चौधरी प्रशासनको आडमा जबरजस्ती नहरलाई ढल बनाउन लागेपछि किसानहरु आन्दोलित भएका हुन् ।
मेयर चौधरीलाई सिरहा प्रशासनले संरक्षण गरेको संघर्ष समिति सदस्य अजय चौधरीले आरोप लगाए । प्रशासनले लहान बजारभरि सयौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । सडकमा पानीका फोहोरा हान्ने गाडी तैनाथ गरिएको छ ।
लहान बजारलाई प्रशासनले ब्यारेक जस्तो बनाएको संघर्ष समिति सदस्य हेमन्त यादव बताउँछन् । किसानहरुको धर्ना, जुलुस, अन्तरक्रिया, प्रदर्शन, सार्वजनिक सुनुवाइ जस्ता सामान्य कार्यक्रममा समेत सयौंको संख्यामा सुरक्षाकर्मी परिचालन गर्नु यसको उदाहरण भएको उनको भनाइ छ ।
प्रशासनले आफूहरुको कार्यक्रममा हस्तक्षेप गरे कडा प्रतिवाद गर्ने किसानहरुले चेतावनी दिएका छन् । उनीहरुले गत आइबार साँझ मसाल जुलुस प्रदर्शन गरेका थिए । सोमबार शान्तिपूर्ण प्रदर्शन गर्दै नगरपालिका घेराउ गरे । नगरपालिका घेराउ गर्न पुगेका आन्दोलनकारी किसान र नगरपालिकाभित्र सयौंको संख्यामा तैनाथ सशस्त्र प्रहरीबीच मूलगेटमा ठेलाठेल भएको थियो । आन्दोलनकारी आफूहरुको आन्दोलन शान्तिपूर्ण रहने भन्दै पछि हटेपछि कुनै अप्रिय घटना भएन ।