आगलागी नियन्त्रण नभएसम्म काभ्रेको बेथानचोक नारायणस्थानमा यात्रा नगर्न आग्रह
१० माघ, काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा पर्ने ‘बेथानचोक नारायणस्थान क्षेत्र’मा यात्रा नगर्न आग्रह गरिएको छ । गाउँपालिकाले आगलागीको जोखिम भएको क्षेत्रभित्र सो मन्दिर परिसर पनि पर्ने भएकाले यात्रा नगर्न आग्रह गरेको हो ।
पर्यटकीय क्षेत्र नारायणस्थान मन्दिर लगायत वडा नं. १, २, ३ र ५ का केही क्षेत्रहरू समेत जोखिममा रहेको जानकारी गराउँदै पालिकाले आगलागी नियन्त्रण नहुँदासम्म त्यस क्षेत्रमा नजान आग्रह पालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले विज्ञप्तिमार्फत् जनाएका छन् ।
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ मा पर्ने ‘बेथानचोक नारायणस्थान मन्दिर’ धार्मिक र पर्यटकीय दुवै दृष्टिकोणले प्रसिद्ध गन्तव्यस्थल मानिन्छ ।
बेथानचोक नारायणस्थान मन्दिर समुद्री सतहदेखि ३०१८ मिटर उचाइमा अवस्थित छ । उक्त मन्दिर महाभारत पर्वत शृङ्खलामध्ये काभ्रेको सबैभन्दा अग्लो र शृङ्खलाभरमा चौधौँ अग्लो शृङ्खलामा रहेको छ ।
मंगलबार दिउँसो २ बजेबाट लागेको आगो नियन्त्रण हुन सकेको छैन ।
नेपाली सेना र नेपाल प्रहरी पुगेपनि जंगलको भिर क्षेत्रमा आगो लागेकोले तत्काल निभाउन नसकिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
सुरक्षाकर्मीलाई आगो नियन्त्रण गर्न समस्या भएपनि मानबस्तीतर्फ आगो आउन नदिनेगरी नियन्त्रणको पहल तथा क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्न निर्देशन दिइएको उनले बताए ।
आगलागी भइरहेको क्षेत्रबाट ३–४ किलोमिटर दुरीमा बस्ती रहेको बताइएको छ ।
स्थानीय प्रहरी चौकी फलामेटारका प्रहरी सहायक निरीक्षक राम सागर महतोका अनुसार जंगलमा आगो लागेपनि बस्तीमा आइसकेको छैन ।