Logo
८ माघ २०८१, मंगलबार
(January 21, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुटवल जाँदै रवि, भोलि अदालत उपस्थित हुने

८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज बुटवल जान लागेका छन् । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लागि उनी बुटवल जान लागेका हुन् ।

लामिछाने अहिले त्रिभुवन विमानस्थलमा छन् ।

दिउँसो २ बजेर ४० मिनेटको उडानमा उनी भैरहवा जान लागेको भए पनि केहीबेर विमान डिले हुँदा अहिले विमानस्थलमै रहेको रास्वपा स्रोतले अनलाइनखबरलाई बतायो । उनी भोलि आफैं अदालत उपस्थित हुने जनाइएको छ ।

लामिछाने पोखराको सूर्यदर्शन सहकारीमा जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

लगत्तै उनीविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा परेको मुद्दामा बयान दिन काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए ।

काठमाडौंमा पनि उनी ६० लाख रकम धरौटी बुझाएर रिहा भएका थिए । उनी धरौटीमा रिहा भएपछि रुपन्देही प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

कास्की प्रहरीमा अनुसन्धान भइरहेकै बेला रविमाथि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि २७ कात्तिकमा बुटवलस्थित सरकारी वकिलको कार्यालयमा पुगेर रविले बयान दिएका थिए ।

यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा ३ वैशाखमा अदालतमा दर्ता भएको थियो । त्यतिबेला एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको पहिलो चरणको अनुसन्धानबाटै खुलेको थियो । जसमध्ये दुई करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण गएको उल्लेख थियो ।

गोर्खा मिडिया नेटवर्कले ११ फागुन २०७७ मा ग्यालेक्सी टीभी सञ्चालनमा ल्याएको थियो ।

गोर्खा मिडिया नेटवर्कमा सुरुमा गितेन्द्रबाबु राई र छविलाल जोशी शेयर सदस्य थिए । त्यसबेला राई र जोशीको समान दुई लाख ५० हजार कित्ता शेयर थियो ।

टीभी सञ्चालनमा आएको वर्ष दिन नपुग्दै ७ पुस २०७८ मा लामिछाने एक लाख ८० हजार कित्ता शेयरसहित प्रबन्ध निर्देशक बनेका थिए । त्यो बेला राईसँग ८० प्रतिशत (१० लाख २० हजार कित्ता) र रविसँग १५ प्रतिशत शेयर थियो ।

गितेन्द्रबाबु र उनको समूहले काठमाडौं, बुटवल, पोखरा, चितवन, वीरगन्जलगायतका शहरमा सञ्चालन गरेको सहकारीको करोडौं रकम ग्यालेक्सी टीभीमा लगानी देखिएको छ ।

त्यस्तै, दुई करोड रुपैयाँ रवि लामिछानेको नाममा गएको उल्लेख थियो । यो ऋण १८ चैत २०७७ मा स्वीकृत भएको थियो र चार लाख सेवा शुल्क कटाएर एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको भौचरमार्फत जम्मा भएको खुलेको थियो ।

प्रकाशित मिति: Jan 21, 2025

प्रतिक्रिया दिनुहोस्