Logo
७ माघ २०८१, सोमबार
(January 20, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठूलो आवाज भएको बाइक चलाएको भन्दै युवकको छातिमा प्रहरीको आठ लात्ती !

काठमाडौँ । प्रहरीले सर्वसाधरणलाई एक्लै पायो भने कतिसम्म अत्याचार गर्छ भन्ने उदाङ्गो हुने एक क्रुर घटना चितवनमा घटेको छ ।

सामाजिक सञ्जालमा भाइरल भिडियोको सुरुमा ३ मोटरसाइल रोकेर राखेको देखिन्छ । रातिको सयममा कैद गरिएको भिडियोमा केही हेलमेट लगाएका युवा र केही प्रहरी देखिन्छन् ।

केही युवकहरु एक प्रहरीसँग भलाकुसारी गर्दै गरेको देखिन्छ भने त्यसको नजिकै अर्का एक प्रहरी हातमा वाकीटकी लिएर उभिइरहेको देखिन्छ ।

त्यसको केही सेकेन्डमै ति प्रहरी कुधेर अलिक पर जान्छन । उनी आक्रोशित मुद्रामा ‘निकाल, कसलाई फोन गर्ने ?, पावर देखाएको ?, हँ ?’ भन्दै कुदेर गएर भुईँमा बसिरहेका एक युवकलाई आक्रमण गर्छन् ।

ती प्रहरी आफूतर्फ कुदेर आएपछि ति युवक उठेर भाग्न खोज्छन् तर प्रहरीको लात्ती प्रहारले ती युवक भुईँमा पछारिन्छन् ।

युवक ढलेपनि प्रहरीले उनीमाथिको आक्रमणलाई निरन्तरता दिन्छन् ।

उनले भुईमा पल्टिएका युवकमाथि क्रुरतापूर्वक ७ पटकसम्म बुट बजार्छन् ।

उनले युवकको घुँडा, कम्मर, खुट्टामा मात्र नभएर छाती र मुखमा समेत बुट बजार्छन् ।

प्रहरीको प्रहारबाट ढलेका युवामाथि आफ्नो शक्ति प्रदर्शन गरेका प्रहरी युवक अचेत अवस्थामा पुगेपछि पुनः अन्य युवकमाथि आक्रमण गर्न जोस्सिएर फर्किन्छन् ।

यो घटना गत पुष १५ गतेको हो । सो दिन तमु ल्होसार थियो ।

चाडपर्वको समयमा आपराधिक घटना बढ्ने आँकलनका साथ भरतपुरको बाइपास सडक खण्डमा प्रहरीको नियमित चेकजाँच थप कडा गरिएको थियो ।

सो दिन बाइपास खण्डमा भरतपुरको वडा नम्बर ११ मा रहेको गणेशस्थान अस्थायी प्रहरी पोष्टका असई बुद्धिबहादुर घलान डिउटीमा थिए ।

डिउटीमै रहेको समयमा रातको करिब १० बजे ३ वटा मोटरसाइकलमा होहल्ला गर्दै मोटरसाइकल पड्काउँदै केही युवक चेकिङतर्फ आए ।

घलानको नेतृत्वमा रहेका प्रहरीहरुले उनीहरुलाई रोकेर मापासे जाँच गराए । उनीहरुले मापासे गरेको पुष्टि भएपछि प्रहरीले उनीहरुलाई त्यहिँ रोके ।

‘प्रहरीले मापासे गरेर आएका कारण भोलि मात्र सवारी लिन आउनु भनेपछि उनीहरु होहल्लामा उत्रिएका थिए’, चितवनका एक प्रहरीले भने ।

त्यस्तै मोटरसाइकलबाट ओर्लिएर प्रहरीलाई धम्की दिँदै एक युवक केही पर गएर आफ्नो पावर देखाउने भन्दै फोन गर्न थाले ।

त्यसपछि आक्रोशित भएका असई बुद्धिबहादुर घलानले पावर देखाएको ? भन्दै गएर ती युवकमाथि कुटपिटमा उत्रिएको प्रहरीले जनाएको छ ।

चितवन प्रहरीका अनुसार कुमाल थरका युवकमाथि कुटपिट भएको हो । उनको उपचारपछि स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उता कुमाल थरका ती युवकमाथि मरणासन्न हुनेगरि कुटपिटमा उत्रिने असई बुद्धिबहादुर घलानलाई निलम्बनको प्रक्रिया सुरु गरिएको चितवन प्रहरीले जनाएको छ ।

त्यस्तै घटनाको छानबिन गर्न चितवन प्रहरीले डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

सुरुदेखि नै प्रहरीको क्रुर व्यवहार देखेर भिडियो खिचेका होटल व्यवसायीले पोस्ट गरेको भिडियो सामाजिक सञ्जाल तताएको छ । नागरिकको रक्षा गर्न राखिएका प्रहरी नै गुण्डाको शैलीमा उत्रिनु आपत्तिजनक रहेको भन्दै प्रहरीको आलोचना भइरहेको छ ।

प्रकाशित मिति: Jan 20, 2025

प्रतिक्रिया दिनुहोस्