संसद् नचल्दा अध्यादेश ल्याउन मिल्छ : उपमहासचिव ज्ञवाली
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसद् अधिवेशन नचलेका वेला सरकारले अध्यादेश ल्याउनसक्ने बताएका छन्।
आइतवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपालको संविधानको धारा ११४ ले अध्यादेशको व्यवस्था गरेको उल्लेख गर्दै अधिवेशन नचलेका वेला अध्यादेश ल्याउनसक्ने बताए। उनले अध्यादेश ल्याउने कुरालाई संसद्को अधिकार कटौती गरेको भनेर बुझ्न नहुने स्पष्ट पारे।
उनले सदनको पहिलो बैठकमै अध्यादेशहरू पेश हुने र पारित नभए स्वतः निष्क्रिय हुने बताए। उनले कानून बनाउन पाँच वर्षसम्म लाग्ने स्थिति रहेका वेला र संसद् पनि नचलेको समयमा अध्यादेश ल्याएको कुरालाई संसद्को अवज्ञा भन्न नहुने बताए। अध्यादेश संसद्लाई अवज्ञा गर्ने गरी नभई आवश्यकता महसुस गरेर ल्याइएको बताए।
उपमहासचिव ज्ञवालीले भने, ‘नेपालको संविधानको धारा ११४ ले अध्यादेशहरूको व्यवस्था गरेको छ। संसद्को अधिवेशन नचलेका वेला सरकारले अध्यादेश ल्याउनसक्छ। त्यो संसद्को अधिकार कटौती गरेको होइन। हामीकहाँ कानून बन्न ५ वर्ष लाग्ने गरेको पीडादायी अनुभव पनि व्यहोरेका छौँ।
अहिले सरकारले ल्याएका दुईवटा अध्यादेश छन्। सहकारी पीडितहरू महिनौँदेखि लडिरहनुभएको छ। कतिले उपचार नपाएर ज्यान गुमाउनु परेको छ। केही मान्छेले अनियमितता र रकम दुरुपयोग गरे। हामीले एक वर्षपछि कानून बनाउँछौँ भनेर क्यान्सर पीडितले त पर्खिएर बस्न सक्दैन होला। त्यस्ता समस्या पर्छन् भनेरै संविधानले अध्यादेशको व्यवस्था गरेको होला। संसद्लाई अवज्ञा गरेको भन्ने रूपमा बुझ्ने भन्दा पनि आवश्यकताले ल्याउनुपरेको हो।’
उपमहासचिव ज्ञवालीले दलहरूमाथि हुने प्रहारले लोकतन्त्रलाई कमजोर बनाउने बताए।