बिहान ९ बजे नै लामिछाने जिल्ला अदालतमा उपस्थित, आजै थुनछेक बहस हुने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् ।
आइतबार बिहान ९ बजे उनी जिल्ला अदालतमा उपस्थित भएका हुन् । अदालतका कर्मचारीले उनलाई थुनुवा कक्षमा राखेका छन् ।
आजै उनको इजलास तोकिने छन् भने इजलास समक्ष उनको बयान पनि हुनेछ । त्यसपछि थुनछेक बहस हुनेछ । बहसपछि थुना, धरौटी वा सादा तारेख मध्ये एक आदेश हुनेछ ।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा हाजिर भएका हुन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका लामिछानेलाई आफू स्वयं अदालतमा हाजिर हुन भनिएको थियो ।
स्वर्णलक्ष्मीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका लेखा समिति सदस्य सुनिता नेवा र ऋण उप समिति सदस्य कमल लामा धरौटीमा रिहा भैसकेका छन् ।
स्वर्णलक्ष्मीमा रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशी सहित ३९ जनालाई प्रतिवादी कायम गरिएको छ ।
लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारीमा पनि ठगी आरोपमा पनि मुद्दा दर्ताको तयारी भइरहेको छ ।