स्थलमार्गबाट काठमाडौं आउँदै रवि, प्रवक्ता भन्छन्- सबैलाई हवाइ टिकट पाइएन
२६ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने स्थलमार्ग हुँदै काठमाडौं आउने भएका छन् । पार्टीका कार्यबाहक प्रवक्ता मनीष झाका अनुसार लामिछाने बिहान १० बजे नै स्थलमार्ग हुँदै पोखराबाट हिंडिसकेका छन् ।
‘उहाँ स्थलमार्ग हुँदै काठमाडौं जानुभएको छ,’ कार्यबाहक प्रवक्ता झाले भने, ‘अदालतमा जतिसक्दो चाँडो उपस्थित हुनेगरी उहाँ हिंड्नुभएको छ ।’
हवाइ मार्गबाटै जाने तयारी भएपनि नेता कार्यकर्ताको ठूलो समूह भएकाले रवि स्थलमार्गबाट काठमाडौं आउन लागेका हुन् ।
‘धेरै ठूलो समूह भयो, गाडी मै जाऔं म पनि सँगै जान्छु भन्नुभयो,’ सभापति लामिछानेको भनाइ उद्धृत गर्दै झाले भने, ‘यत्रो दिनको साथ पाएँ, अब म छुटेँ, तपाईंहरू चाहिँ बस्नुस् भन्ने कुरा पनि भएन ।’
झासहितका केही नेताहरू भने म्याग्दी, पर्वत लगायतका केही जिल्लामा आयोजित कार्यक्रमका लागि उतै बसेका छन् ।
गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई कास्की प्रहरीको हिरासतमा राखिएको थियो । कास्कीको सूर्यदर्शन सहकारी लगायतमा परेको मुद्दाको अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको थियो ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले उनलाई हिजो बिहीबार ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
आदेशलगत्तै उनले बिहीबार साँझ नै बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएका थिए । धरौटी बुझाएपछि रविलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने शर्तमा परिवारको जिम्मा लगाएको थियो ।