Logo
२५ पुस २०८१, बिहीबार
(January 9, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वायुसेवा निगमको व्यावसायिक योजनालाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन

काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले वायुसेवा निगमको व्यावसायिक योजनालाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले नेपाल वायुसेवा निगमको व्यावसायिक योजनालाई  पूर्णरुपमा कार्यान्वयनमा ल्याई सोको प्रगति समितिमा पेस गर्न निर्देशन दिएको हो ।

त्यस्तै बैठकले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सम्बद्ध निकायहरूबिच सम्झौता, समन्वय एवं पहलकदमी लिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ भने निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई शीघ्र अघि बढाउन निर्देशन दिइएको समिति सभापति राजकिशोर यादवले जानकारी दिए ।

बैठकले पर्यटन मन्त्रालयको समग्र नीतिगत, संरचनागत र व्यवस्थापकीय सुधार गर्न कार्यान्वयन योग्य कार्ययोजना यथाशीघ्र निर्माण गरी समितिलाई जानकारी गराउन समेत निर्देशन दिएको सभापति यादवले बताए ।

बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले कुनै पनि विभागीय कर्मचारीमाथि पूर्वाग्रह नराखी काम गरेको बताए । उनले नेपाल वायुसेवाको विमान सञ्चालन र व्यवस्थापनमा कमजोरी रहेकै कारण घाटामा गएको समेत बताए । नेपाल एयरलाइन्सले समयै विमान उड्छ भन्ने सन्देश दिएको अवस्थामा पहाडी विमानस्थलमा समेत यात्रुको कमी नहुने प्रस्ट परे । चाइनिज विमान किनेर फस्ने काम भएको यसबारे विस्तृत रूपमा अध्ययन गर्नुपर्ने उनले बताए

समिति बैठकले देशका विभिन्न जिल्लमा रहेका निगमको स्वामित्वमा रहेका जग्गा तथा भौतिक संसाधनहरूको उपयोग योजना निर्माण गरी यथाशीघ्र कार्यान्वयन गरी सोको जानकारी उपलब्ध गराउन निर्देशन दिएको छ भने निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गरी एक महिनाभित्र समितिलाई प्रतिवेदन पेस गर्न समिति सदस्य शिशिर खनालको संयोजकत्वमा नेपाल वायुसेवा निगम अध्ययन उपसमिति गठन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: Jan 9, 2025

प्रतिक्रिया दिनुहोस्