Logo
२५ पुस २०८१, बिहीबार
(January 9, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लसएन्जलस डढेलोबाट १ हजार बढी घर जले, ५ जनाको मृत्यु, आपत्काल घोषणा

२५ पुस, काठमाडौं । अमेरिकाको लस एन्जलसमा फैलिएको डढेलोबाट १ हजार १ सय बढी घर जलेका छन् । डढेलोको चपेटामा परेर ५ जनाको मृत्यु भएको छ । यो डढेलो सबैभन्दा विनाशकारी भएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

क्यालिफोर्निया राज्यको लस एन्जलस क्षेत्रमा पर्ने प्यासिफिक प्यालिसेड्स भन्ने स्थानबाट मंगलबार बिहानदेखि डढेलो फैलिएको थियो । प्यासिफिक प्यालिसेड्स सान्टा मोनिका पहाडमा पर्दछ । यो पर्यटकीय क्षेत्रको रुपमा चर्चित छ ।

डढेलो लागेको क्षेत्रको भ्रमण गरेका क्यालिफोर्नियाका गभर्नर गेभिन न्युजमले भनेका छन्, ‘खतराबाट कोही पनि सुरक्षित छैनन् ।’ उनले सो लसएन्जलस क्षेत्रमा आपत्काल घोषणा गरेका छन् ।

उनका अनुसार अहिले ९७ किलोमिटर प्रतिघण्टामा चलेको हावाको वेगसँगै आगोले हरेक पाँच मिनेटमा पाँच वटा ठूला फुटबल मैदानजत्रा क्षेत्र सखाप बनाइरहेको छ । तर १६० किलोमिटर प्रतिघण्टाको वेगमा हावा चल्ने सम्भावना रहेकाले अवस्था अझै खतरनाक हुने उनले चेतावनी दिएका छन् ।

डढेलोले दशौं हजार व्यक्ति प्रभावित भएका छन् । लसएन्जलस टाइम्सले ३० हजारभन्दा बढी व्यक्ति विस्थापित भइसकेको जनाएको छ । सो क्षेत्रका २८ हजार भन्दा धेरै घरमा बिजुली आपूर्ति बन्द भएको छ । विद्यालयहरु पनि बन्द छन् ।

जोखिम क्षेत्रबाट मानिसहरुलाई उद्धार गर्ने काम जारी छ । पाँच वटा हेलिकोप्टर र दमकलबाट आगो निभाउन अग्नि नियन्त्रकहरु सक्रिय छन् । तर प्रयास सफल हुन सकेको छैन ।

वेगले हावा चलेकाले आगो नियन्त्रणमा कठिनाइ भइरहेको अधिकारीहरुको भनाइ छ । सुकेका रुख, पातपतिङ्गर र सान्टा आना नामको आँधीले आगो भयानक बनाएको बताइएको छ । झण्डै १६ हजार एकड क्षेत्रमा डढेलोले क्षति पुर्‍याइसकेको छ ।

डढेलो अनियन्त्रित भएपछि मानिसहरुको भागाभाग भएको भिडियो देखिन्छ । मानिसहरु सडकमै सवारी साधन छाडेर भागेपछि कतिपय स्थानमा बाटो खुलाउन डोजर प्रयोग गर्नुपरेको थियो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार प्यासिफिक प्यालिसेड्स क्षेत्रमा बस्दै आएका दिग्गज अभिनेताहरु युजिन लेवी, जेम्स उड्स, जेमी ली कर्टिस, मार्क हमिल, म्याण्डी मुर लगायतले आफ्ना घर छाडिसकेका छन् ।

अग्नि नियन्त्रण विभागको बजेट कटौती र घाना भ्रमणले मेयरको आलोचना

मानिसहरु डढेलोको चपेटामा परेका बेला लसएन्जलसका मेयर करिब बास भने अफ्रिकाको यात्रामा थिइन् । उनी घानाका राष्ट्रपतिको निम्तोमा गएकी थिइन् । मानिसहरु आगोमा चलिरहेका बेला मेयरको अनुपस्थितिलाई लिएर आलोचना भएको थियो । उनी बुधबारै फर्किसकेकी छन् ।

तर उनले आफू यात्राको क्रममा हरेक घण्टा स्थानीयसँग सम्पर्कमा रहेको र परिस्थितिबारे जानकारी लिने गरेको बताएकी छन् ।

अग्नि नियन्त्रण विभागको बजेट १७ मिलियन डलरभन्दा बढीले कटौती गरेकाले पनि उनको आलोचना भइरहेको छ ।

प्रकाशित मिति: Jan 9, 2025

प्रतिक्रिया दिनुहोस्