प्रतिवादी सुनिता नेवा र कमल लामालाई धरौटीमा रिहा गर्न अदालतकाे आदेश
काठमाडौँ । काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी रकम अपचलन प्रकरणमा पक्राउ परेर प्रहरी हिरासतमा रहेका २ प्रतिवादीलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासले मंगलबार प्रतिवादी सुनिता नेवा र कमल लामालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
अदालतको तोकेको धरौटी रकम बुझाएर दुवैजना रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । अदालतले प्रतिवादी सुनिता नेवालाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो भने प्रतिवादी कमल लामालाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
अदालतले सहकारीको लेखा समिति सदस्य सुनिता नेवा २०७४ मंसिर ४ गतेदेखि २०७९ कात्तिक १६ गतेसम्म स्वर्णलक्ष्मी बहुदेश्यीय सहकारी संस्था लिमिटेडमा लेखा समितिको सदस्य भई काम गरेको तर निजले के कुन कार्य गरी जाहेरवालाहरुको रकम हिनामिना गरेको भन्ने अभियोग लगायत मिसिल संलग्न काजजातहरुबाट नदेखिएको जनाएको छ ।
त्यस्तै अदालतले अर्का प्रतिवादी कमल लामाले उक्त सहकारीको ऋण उपसमितिमा कहिलेदेखि कहिलेसम्म काम गरेको तथा ऋण उपसमितिबाट को कसलाई ऋण दिँदा निजले के के कार्य गरे भन्ने अभियोगमा उल्लेख भएको नदेखिएको र उनको दस्तखतबाट कुनै ऋण प्रवाह भएको भन्ने नदेखिएको भन्दै धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
स्वर्णलक्ष्मी सहरकारी रकम अपचलन प्रकरणमा आइतबार उनीहरुसहित ३९ जनालाई प्रतिवादी बनाउँदै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । उनीहरुविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको हो ।
काठमाडौँ प्रहरी परिसरको अनुसन्धान प्रतिवेदका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सो सहकारीले १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोपसहित मुद्दा दायर गराएको थियो ।