Logo
२४ पुस २०८१, बुधबार
(January 8, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पशुपतिनाथलाई आज विश्राम, निस्किए पार्वतीका साथमा घाम ताप्न !

काठमाडौं : मानिस वा अन्य पशुपक्षीले कामबाट विश्राम लिने गरेको त हामीले देखेकै छौँ। एकोहोरो चलाउँदा बिग्रने भन्दै यन्त्र (मेसिननरी सामान) लाई पनि विश्राम दिने गरिन्छ। तर भगवानले पनि कामबाट विश्राम लिन्छन् भन्ने सुन्न आश्चर्य लाग्न सक्छ। हो, भगवानले पनि विश्राम लिन्छन्।

नेपालका आराध्यदेव र विश्वभरका सनातनीका आस्थाका केन्द्र भगवान् पशुपतिनाथले मंगलबार विश्राम लिएका छन्। अर्थात् आज बिहानैदेखि दिनभर पशुपतिनाथका नित्यपूजा हुने छैन। यो समयमा भगवान् पशुपतिनाथ घाम ताप्न निस्कने विश्वास गरिन्छ।

वर्षमा एकपटक पशुपतिनाथलाई विश्राम दिने परम्परा रहेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। पुस महिनामा धनुर्मास पूजा गरेको दिन पशुपतिनाथलाई विश्राम दिइने उनले बताए। ‘उपयुक्त साइत जुराएर वर्षमा एकदिन धनुर्मास पूजा गरिन्छ। त्यसै दिन बिहानदेखि पशुपतिनाथलाई विश्राम दिइन्छ। अर्थात् दिनभर उहाँको पूजा गरिँदैन’, उनले भने, ‘यसको अर्थ पुजारीलगायत मन्दिरसँग जोडिएका अन्य मानिसले पनि विश्राम पाऊन् भन्ने हो।’ यो दिन पशुपतिनाथलाई उपवास राखेको पनि भनिन्छ।

के त्यसो भए मंगलबार भगवान् पशुपतिनाथका सबै पूजा नै रोकिन्छन् त ? ‘होइन हिजो मध्यरातदेखि बिहानसम्ममा आज हुने सबै पूजा गरिसकिएको छ’, अधिकारीले भने, ‘त्यसैले पूजा खण्डित हुँदैन। अब साँझको आरती मात्रै हुनेछ।’

जाडोयाममा विशेषगरी पुस महिनामै पशुपतिनाथको धनुर्मास पूजा गर्ने परम्परा छ। पुसलाई ज्योतिषीय भाषामा धनु मास भनिन्छ। सौर र चान्द्र दुवै पुस रहेको महिनामा पशुपतिनाथलाई धनुर्मास पूजा गर्ने परम्परा छ। धनुर्मास पूजा ठ्याक्कै यही दिन पर्छ भन्ने निश्चित छैन। ‘सौर र चान्द्र दुवै पुस महिना परेको उपयुक्त दिन धनुर्मास पूजा गर्ने परम्परा छ’, अधिकारी भन्छन्, ‘भट्टहरूले नै साइत जुराउन लगाएर पूजा निश्चित गर्छन्।’

पशुपतिनाथलाई चिसोबाट बचाउन यो पूजा गरिएको बताइन्छ। धनुर्मास पूजामा पशुपतिनाथलाई तातोपानीले स्नान गराइन्छ। खिचडीको भोग लगाइन्छ। घ्यू र चाकुजस्ता पदार्थ पनि चढाइन्छ। ‘जाडो महिनामा मानिसले तातोपानीले नुहाउँछन्। शरीर न्यानो पार्ने पदार्थ खान्छन्। भगवान् पशुपतिनाथलाई पनि त्यही गरिएको हो’, अधिकारी भन्छन्, ‘यो परम्परा एउटा भावनात्मक पक्ष हो।’

धनुर्मास पूजा सकेपछि विश्रामको दिन पशुपतिनाथ अर्धाङ्गिनी पार्वतीका साथ घाम ताप्न निस्कने विश्वास गरिन्छ। पशुपतिनाथ गोसाइँकुण्ड जाने लोकोक्ति छ। कसैकसैले शिवपुरी डाँडामा जाने विश्वास गर्छन्। पशुपतिनाथ साँझमा पुन: फर्किएर आउने बताइन्छ।

दिनभर बन्द रहने पशुपतिनाथको मन्दिर साँझदेखि श्रद्धालुका लागि खुला हुनेछ।

 

प्रकाशित मिति: Jan 8, 2025

प्रतिक्रिया दिनुहोस्