Logo
२४ पुस २०८१, बुधबार
(January 7, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वाइडबडी होस् कि गिरीबन्धु, अख्तियारले सक्दैन भने सर्वशक्तिशाली आयोग बनाउनुपर्छः गगन थापा

काठमाडौं, २३ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेसम्म चर्चामा आएका सबै काण्डहरु छानविनमा आउनुपर्ने बताएका छन् । आज (मंगलबार) काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले वाइडबडीदेखि ललिता निवाससम्मका काण्डहरु छानविन गर्नुपर्ने बताएका हुन् । महामन्त्री थापाले जनतालाई आश्वस्त पार्नका लागि अख्तियारले नसकेको खण्डमा सर्वशक्तिशाली आयोग बनाएर भएपनि भ्रष्टाचारका काण्डहरु छानविन गर्नुपर्ने बताए ।

‘जनताले सुनेका जतिपनि काण्डहरु छन्, त्यो चाहे वाइडबडी काण्ड होस्, चाहे त्यो ललिता निवास होस्, चाहे त्यो गिरीबन्धुको होस्, चाहे त्यो शिविरको होस्, जतिपनि छन्, लामो लिस्ट बन्छ । त्यो लिस्ट राख्ने, त्यो लिस्ट राखेर जनतालाई आश्वस्त पार्ने, यसभित्र भएको प्रत्येक काण्डको अख्तियारले गर्छ । ठीक छ, हामीलाई विश्वास छ । अख्तियारले गर्न सक्दैन, कुनै सर्वशक्तिशाली आयोग बनाउनुपर्छ, बनाऔं,’– महामन्त्री थापाले भने ।

सर्वशक्तिशाली आयोग बनाइसकेपछि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्री, सांसद जोसुकै र जतिसुकै शक्तिशाली मान्छे दोषी देखिएपनि कारबाही गरिनुपर्ने उनको माग छ । महामन्त्री थापाले प्रधानमन्त्री, मन्त्री भएको मान्छे, वहालवाला वा भूतपूर्व जो भएपनि सार्वजनिक ओहदामा बसेकाहरुले गरेको भ्रष्टाचार नेपाली समाज र राज्यले छोड्दैन भन्ने मानक यही सरकारले स्थापित गर्नुपर्ने बताए ।

‘सार्वजनिक ओहदामा बसेर भ्रष्टाचार गरेका मान्छेहरुलाई नेपाली समाजले छाड्दैन । राज्यले छाड्दैन । भन्ने मानक हामीले स्थापित गर्न सक्यौं भने देश ठीक बाटोमा गयो भन्ने अवस्था बन्छ । हामीले त्यो बनाउने गरी काम गर्ने हो । नेपाली कांग्रेसको आत्म भनेको विधिको शासन हो,’– महामन्त्री थापाले भने । 

प्रकाशित मिति: Jan 7, 2025

प्रतिक्रिया दिनुहोस्