वाइडबडीबारे संसदीय छानबिन समिति बनाउन रास्वपाको माग
२३ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वाइडबडी जहाजमा भएको भनिएको अनियमितताबारे संसदीय छानबिन समिति बनाउन माग गरेको छ ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै रास्वपा सांसद शिशिर खनालले यस्तो माग गरेका हुन् ।
‘वाइडबडीको भ्रष्टाचारको विषय फेरि उठेको छ । नेपाली मुलका बेलायती नागरिकले अमेरिकामा ३३ करोड नेपाली पदाधिकारीलाई दिएको स्वीकार गरेका छन्,’ उनले भने, ‘यता नेपालमा अख्तियारले मुद्दा दायर गरेको र विशेष अदालतले फैसला दिइसकेको तर अदालतले अख्तियारको पदाधिकारी तथा छानबिनमाथि नै प्रश्न उठाएको छ ।’
उक्त विषय स्मरण गराउँदै सांसद खनालले संसदीय समितिले छानबिन समिति बनाएर स्वतन्त्र रुपमा हेर्नुपर्ने माग गरे ।
‘जुन निकायले छानबिन गर्नुपर्ने हो त्यसमाथि विशेष अदालतले प्रश्न उठाएकाले स्वतन्त्र छानबिनमा प्रश्न उठ्यो,’ उनले भने, ‘त्यसैले सभापतिज्यू एउटा छानबिन समिति बनाऔं । पछिल्लो समय उठेका विषय नजिकबाट हेरौं ।’
नेताहरूका अनुसार यस्तो माग गर्ने विषयमा रास्वपाभित्र समेत छलफल भएको थियो । पार्टीभित्रकै छलफलपछि सांसद खनालले मांगलबारको बैठकमा यस्तो माग राखेका हुन् ।