Logo
२३ पुस २०८१, मंगलबार
(January 6, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकतन्त्रको सुदृढीकरण र स्थायित्व पत्रकारहरूको मुख्य लक्ष्य हुनुपर्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलन मात्र नभएर  सामाजिक र आर्थिक रूपान्तरणमा नेपाली पत्रकारिता क्षेत्र र नागरिक संस्थाका हैसियतले नेपाल पत्रकार महासंघले पुर्‍याएको योगदान सराहनीय भएको बताएका छन् । नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीको स्वागत कार्यक्रममा राष्ट्रपति पौडेलले लोकतन्त्रको सुदृढीकरण र स्थायित्व पत्रकारहरूको मुख्य लक्ष्य हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘स्वतन्त्र र निष्पक्ष एवं व्यावसायिक पत्रकारिता तथा जनताको सूचनाको हक लोकतन्त्रको आधार स्तम्भ भएकाले नै हाम्रो संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ । त्यही भएर लोकतन्त्रको सुदृढीकरण र यसको स्थायित्व पनि पत्रकारहरूको मुख्य लक्ष्य हुनुपर्छ भन्ने म ठान्दछु ।’

उनले सूचना प्रविधिको तीव्र विकाससँगै समाचारको विषयवस्तु, सञ्चार माध्यम र सूचना सम्प्रेषणमा आएको परिवर्तनले पाठकको सही सूचना पाउने चाहना पूरा गर्न सहज भएको बताउँदै योसँगै सूचना प्राप्ति र सम्प्रेषणमा सजिलो भएसँगै छिटो सूचना दिने होडबाजीमा मिथ्या सूचना प्रवाह हुन सक्ने र त्यसले समाजलाई दिग्भ्रमित पार्न सक्ने खतरातर्फ आमसञ्चारका माध्यमहरू सचेत हुन जरुरी रहेको बताए ।

उनले भने, ‘सूचना प्रविधिको तीव्र विकाससँगै समाचारको विषयवस्तु, सञ्चार माध्यम र सूचना सम्प्रेषणमा आएको परिवर्तनले पाठकको सही सूचना पाउने चाहना पूरा गर्न जति सहज बनेको छ सँगै यस क्षेत्रमा नयाँ नयाँ चुनौती पनि थपिँदै गएको छ । नागरिक पत्रकारिता र सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । यसले सूचना सम्प्रेषण र प्राप्तिमा सजिलोसँगै छिटो सूचना दिने होडबाजीमा मिथ्या सूचना प्रवाह हुन सक्ने र त्यसले समाजलाई दिग्भ्रमित पार्न सक्ने खतरातर्फ आमसञ्चारका माध्यमहरू सचेत हुन जरुरी देखिएको छ ।’

उनले उपलब्ध नवीनतम सूचना प्रविधिको अधिकतम प्रयोगसँगै राज्यको चौथो अङ्गको रूपमा रहेको  सञ्चारमाध्यमले स्वतन्त्र, निष्पक्ष र वस्तुनिष्ठताजस्ता व्यावसायिक धर्मको अधीनमा रही सत्यको अन्वेषण र सत्यको सम्प्रेषणमा वर्तमानमा देखिएका चुनौतीहरूलाई चिर्दै सत्यतथ्य सूचना सम्प्रेषणमा कुनै कसर बाँकी नराख्नेमा आफू विश्वस्त रहेको स्पष्ट पारे ।

राष्ट्रपति पौडेलले श्रमजीवी पत्रकारको हकहित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र व्यावसायिक पत्रकारिताका लागि नवनिर्वाचित नेपाल पत्रकार महासंघको कार्यसमितिले आगामी दिनमा अझै प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: Jan 6, 2025

प्रतिक्रिया दिनुहोस्