Logo
२३ पुस २०८१, मंगलबार
(January 5, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण गर्दा भेटियो ग्यास

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण गर्दा ग्यास फेला परेको छ।

दैलेखको भैरवी गाउँपालिका-१ स्थित जलजलेमा ४ हजार १३ मिटर गहिराइसम्म ड्रिल गर्दा ग्यास भण्डार रहेको सङ्केत देखिएको हो। शनिवार पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत ड्रिलिङ सकिएको छ। ड्रिलिङपछि त्यहाँ भेटिएका पेट्रोलियम पदार्थको नमुना निकालिएको छ।

ग्यास भण्डार रहेको संकेत भेटिएपछि अब त्यहाँ कति परिमाणमा ग्यास छ र त्यसबाट आर्थिक रूपमा कतिको लाभ लिन सकिन्छ भनेर खानी तथा भूगर्भ विभागले अनुसन्धान भइरहेको जनाएको छ।

गत वैशाख २३ गते विभागले अन्तिम चरणको ड्रिलिङ शुरु गरेको थियो। मेसिनले खनेर पेट्रोलियम पदार्थ भए/नभएको पत्ता लगाएको हो।

४ हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ गर्दा ग्यास नै भएको पत्ता लागेको पेट्रोलियम पदार्थ आयोजनाका सिनियर डिभिजनल जियोलोजिस्ट सुरेश श्रेष्ठले बताए।

उनले ड्रिलिङ शनिवार सकिएको बताए। ड्रिलिङपछि नमुना निकालिएको र उक्त नमुना नमुना परीक्षणका लागि चीनको प्रयोगशालामा पठाइएको छ।

पेट्रोलियम पदार्थ हुनसक्ने भन्दै चीनको जिओलोजिकल सर्भे कम्पनीले भौगर्भिक अध्ययन गरेको परियोजनामा सीएनपिसी इन्जिनियरिङले उत्खनन थालेको थियो।

चीनमा पठाइएको नमुना परीक्षणको परिणाम आएपछि व्यावसायिक रूपमा उत्खनन् गर्न सकिने वा नसकिने स्पष्ट हुनेछ। ड्रिलिङ सकिएपछि आजसम्म उक्त स्थानमा भएका सबै काम समेटेर सबै तथ्याङ्क एकैपटक निकालिनेछ।

त्यसपछि ग्यास भण्डार भएको वा नभएको पत्ता लाग्नेछ। अहिलेको ड्रिलिङले गर्दा ग्यासको भण्डारण रहेको पत्ता लागेको उनको भनाइ छ।

सरकारले २०८२ सम्म दैलेखमा पेट्रोलियम अन्वेषण सक्ने तयारी गरेको छ। चैत २०७१ मा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् गर्ने सहमति भएसँगै २०७५ माघमा पेट्रोलियम तथा ग्यास खानीबारे विस्तृत अन्वेषण गर्नेसम्बन्धी परियोजना स्वीकृत भएको थियो।

पेट्रोलियम पदार्थ उत्खनन् र अन्वेषणमा गर्न २ अर्ब ४० करोड रुपैयाँसँगै प्राविधिक सहयोग गर्नेगरी चिनियाँ र नेपाल सरकारबिच सम्झौता भएको थियो।

ड्रिलिङ सकिएसँगै पहिलो चरणको सम्झौता अवधि सकिएको छ। अब अर्को चरणको सम्झिौता गरेर अन्य काम अघि बढाइने आयोजनाले जनाएको छ ।

प्रकाशित मिति: Jan 5, 2025

प्रतिक्रिया दिनुहोस्