माओवादी केन्द्रीय कमिटी बैठक सुरु, उपाध्यक्षमा पासाङको इन्ट्री (तस्बीरहरु)
काठमाडौं, २१ पुस । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सुरु भएको छ । आज (आइतबार) देखि सुरु भएको बैठक भोलि समापन हुने छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
यसअघि बसेको स्थायी समिति बैठकले अध्यक्ष दाहालबाट ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्पः आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस हुने टुङ्गो लगाएको थियो । बैठकको प्रारम्भमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्ने र लगत्तै उनीबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ ।
केन्द्रीय समिति बैठक सञ्चालनको ‘मोडालिटी’ टुङ्गो लगाउन आज बिहान ८ बजे स्थायी समिति बैठक बसेको थियो । बैठकमा ४ सय ९ पूर्ण केन्द्रीय सदस्य, २ सय ५ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारी गरी १ सय २५ जना गरी ८ सय १४ जनाको सहभागिता भएका छन् ।
त्यस्तै, पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाड’ पनि केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् । पासाङलाई उपाध्यक्षको रुपमा आमन्त्रण गरिएको छ ।