Logo
२३ पुस २०८१, मंगलबार
(January 5, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४३ पृष्ठ लामो प्रतिवेदन पेस गर्दै ओलीले भने– गुटबन्दी स्वीकार्य छैन

२१ पुस, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटबन्दी र अराजकता स्वीकार्य नहुने बताएका छन् ।

आइतबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले लोकतन्त्रको नाममा गुटबन्दी गरेर भाँडभैलो मच्याउने कामले पार्टीलाई बलियो नबनाउने टिप्पणी गरे ।

‘पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नैपर्छ । लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्याउने कार्यले पार्टीलाई बलियो बनाउँदैन,’ अध्यक्ष ओलीले भनेका छन्, ‘बहकावमा लागेर होइन, एउटै नीतिगत लयमा पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर हामी अगाडि बढ्न सक्नुपर्छ ।’

उनले केन्द्रीय  कमिटी बैठकमा ४३ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पनि पेस गरेका छन् । अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले तीन/तीन मिनेट धारणा राख्नेछन् ।

बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले पार्टीका आन्तरिक विषय सार्वजनिक खपतका लागि प्रस्तुत नगर्न आग्रह पनि गरे ।

‘पार्टीलाई विभाजन गरेर वा सिध्याइयो भनेर लड्डु खाएका कतिपय नेताहरूलाई अहिले लड्डु ओकल्नुपरेको छ,’ ओलीले भनेका छन् । उनले विरोधीहरूले लगाएका आरोपको तथ्य र प्रमाणका आधारमा खण्डन गर्न पनि निर्देशन दिएका छन् ।

‘हामी विरोधीका आरोपमाथि चुप लागेर बस्नु हुँदैन । चुप लागेर बस्नुपर्छ भन्ने कमजोर धारणा हो । विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नुपर्छ,’ ओलीले भनेका छन् ।

सम्बोधनको क्रममा अध्यक्ष ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरु मजबुद भएका कारण मुलुकका प्रतिक्रियावादी शक्तिहरु आतंकित भएको पनि बताएका छन् ।

उनले प्रतिक्रियावादी शक्तिहरू निर्दयी र अमानवीयरुपमा एमालेविरुद्ध झुठा प्रचारमा लागेको टिप्पणी पनि गरेका छन् । एमालेको लोकप्रियता देखेर यसको लोकप्रियता घटाउन र एमालेलाई बदनाम गर्न विरोधीहरु लागेकाले पार्टीका सही नीतिका आधारमा एकताबद्ध भई झुठा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न आग्रह गरे ।

‘हामी विरोधीका आरोपमाथि चुप लागेर बस्नु हुँदैन । चुप लागेर बस्नुपर्छ भन्ने कमजोर धारणा हो । विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नुपर्छ । हाम्रा सबै सङ्गठनहरु उत्साहित भएर व्यक्ति व्यक्ति र घर घरमा पुग्नुपर्छ । वैचारिक कामलाई उत्तिकै महत्व दिनुपर्छ,’ अध्यक्ष ओलीले भने, ‘पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नैपर्छ । लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्याउने कार्यले पार्टीलाई बलियो बनाउँदैन । बहकावमा लागेर होइन, एउटै नीतिगत लयमा पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर हामी अगाडि बढ्न सक्नुपर्छ ।’

प्रकाशित मिति: Jan 5, 2025

प्रतिक्रिया दिनुहोस्