प्रतिक्रियावादीहरू एमालेविरूद्ध झुटो प्रचारमा लागे: अध्यक्ष ओली
प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकका प्रतिक्रियावादी शक्तिहरू आतंकित भएको बताएका छन्।
आइतबार केन्द्रीय कार्यालय च्यासलमा सुरू केन्द्रीय कमिटी बैठकमा ४३ पृष्ठको राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्ति मजबुद भएका कारण प्रतिक्रियावादी शक्तिहरू आतङ्कित भएको दाबी गरेका हुन्।
प्रतिक्रियावादी शक्तिहरू निर्दयी र अमानवीयरूपमा एमालेविरुद्ध झुटो प्रचारमा लागेको अध्यक्ष ओलीको भनाइ छ।
‘हामी विरोधीका आरोपमाथि चुप लागेर बस्नु हुँदैन। चुप लागेर बस्नुपर्छ भन्ने कमजोर धारणा हो। विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नुपर्छ,’ अध्यक्ष ओलीले भने, ‘हाम्रा सबै संगठन उत्साहित भएर व्यक्ति-व्यक्ति र घर घरमा पुग्नुपर्छ। वैचारिक कामलाई उत्तिकै महत्व दिनुपर्छ।’
अध्यक्ष ओलीले पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नुपर्ने बताए।
‘लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्याउने कार्यले पार्टीलाई बलियो बनाउँदैन। बहकावमा लागेर होइन, एउटै नीतिगत लयमा पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर हामी अगाडि बढ्न सक्नुपर्छ,’ उनले भने।
पार्टीका आन्तरिक विषय सार्वजनिक खपतका लागि प्रस्तुत नगर्न आग्रह गर्दै उनले पार्टी विभाजन गरेर वा सिध्याइयो भनेर लड्डु खाएका कतिपय नेताहरूलाई अहिले लड्डु ओकल्नुपरेको पनि टिप्पणी गरेका थिए।
एमाले र माओवादी मिलेर नेकपा बनेका बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले लड्डु खाएका थिए। प्रचण्ड र नेपालको नाम नलिई ओलीले अहिले ती नेताहरूलाई लड्डु ओकल्न परेको बताएका हुन्।
ओलीले केन्द्रीय समितिमा पेस गरेको राजनीतिक प्रतिवेदनमा नयाँ राजनीतिक कोर्स–एमाले र नेपाली कांग्रेससँगको गठनबन्धन आवश्यकता, औचित्य र अवसर, गठनबन्धनपछिका छ महिना, अस्थिरता, अराजकता र प्रयोजित निराशाका प्रयास, बदलिँदो विश्व परिवेश र नेपालको पराराष्ट्र नीति, उपनिर्वाचनको समीक्षा र निर्णायक राष्ट्रिय शक्तिको निर्माण आदि विषयवस्तु समेटिएका छन्।
नयाँ सरकार गठनपछि राजनीतिक स्थायित्वको सन्देश मिलेको, साझा नीतिगत प्रतिबद्धता र सङ्कल्प जारी भएको, सरकार सञ्चालनमा सहजीकरणका लागि आवश्यक संरचना बनाइएको, अर्थतन्त्रमा सुधार आएको, सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पारित भएको, राष्ट्रिय हितको रक्षा र सन्तुलित बाह्य सम्बन्ध कायम गरिएको, सहकारी क्षेत्रको बेथितिमाथि हस्तक्षेप गरी बचतकर्तालाई न्याय तथा अनियमिततामा सम्लग्नलाई सजाय दिन थालिएको र विकास निर्माणले गति लिएको जस्ता मुख्य उपलब्धि हासिल भएको अध्यक्ष ओलीले प्रस्तुत गरेको उनको सचिवालयले जनाएको छ।
बैठकमा राजनीतिक प्रतिवेदनका साथै सांगठनिक कामको सङ्क्षिप्त जानकारी, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक (८–९, वैशाख, २०८१) पछि भएका केन्द्रीय सचिवालय र पोलिटब्युरो बैठकका निर्णहरुको जानकारी, केन्द्रीय आयोगका अध्यक्षको सम्बोधन, समसामयिक प्रस्ताव र विविध विषय कार्यसूची रहेको महासचिव शंकर पोखरेलले बैठकमा जानकारी गराए।
बैठकमा पोलिटब्युरो सदस्य सूर्य थापाको संयोजकत्वमा केन्द्रीय सदस्यहरू निरज आचार्य र विष्णु रिजाल रहेको बहस नोट कमिटी तथा केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमको संयोजकत्वमा स्थायी कमिटी सदस्यहरू रघुजी पन्त र खगराज अधिकारी रहेको समसामयिक प्रस्ताव समिति गठन भएको एमालेले जनाएको छ।