ठूला मिडियाहरू कसलाई बदनाम गर्नुछ योजना नै बनाएर लागेका छन्: प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ठूला मिडिया हाउस योजना नै बनाएर बदनाम गर्न लागेको बताएका छन् ।
नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाको पद हस्तान्तरण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । श्रमिक पत्रकार र ठूला मिडिया हाउसको मुद्दा नै फरक रहेको प्रसँग निकाल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले यस्तो आरोप लगाएका हुन् ।
‘श्रमिक पत्रकारका समस्या एकातिर रहेको छ भने अर्कोतिर ठूला मिडिया हाउसहरुले कसलाई बदनाम गर्नुछ योजना नै बनाएर उद्देश्यमूलक रुपमा मेनोबोरिङ गर्ने गरेका छन् ।यस्ता बदनियतपूर्ण प्रचारले पत्रकारितालाई बलियो नबनाउने भएकाले पत्रकार महासंघले यस्ता प्रवृत्तिका विरुद्ध पनि खबरदारी गर्नुपर्छ’ उनले भने ।