सरकारको काम पर्याप्त नभएको एमाले निष्कर्ष
नेकपा एमालेको सचिवालय बैठकले सरकारले गरिरहेको काम पर्याप्त नभएको निष्कर्ष निकालेको छ । केन्द्रीय मुख्यालय च्यासलमा बसेको ४३औं सचिवालय बैठकले सरकारलाई अझ गति बढाउन सुझाव दिएको छ ।
‘यति (अहिले गरिरहेको काम) पर्याप्त छैनन, सरकारले अझ बढी पुस गरोस् । अझ बढी कामलाई तीव्रता दिओस्,’ बैठकको निर्णय सुनाउँदै उमपहासचिव प्रदीपकुमार ज्ञवालीले भने, ‘दुई वटा दल र अरु पनि मिलेर बनेको शक्तिशाली सकारले अझ बढी डेलिभरी गर्नुपर्छ भनेर सुझाव दिएका छौं ।’
यद्यपि सरकारले ६ महिनाको अवधिमा उल्लेख्य काम गरेको निष्कर्ष एमालेले निकालेको छ । ‘सरकारले केही महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । तर थुप्रै कामहरु गर्न बाँकी रहेको …,’ ज्ञवालीले भने, ‘ती बाँकी कामहरु छिटो सम्पन्न गर्न खासखरी डेलिभरीको पाटोमा, विकास निर्माणको पाटोमा, अर्थतन्त्रलाई अझ लयमा ल्याउने पाटोमा सरकारले अझ बढी ध्यान केन्द्रीत गर्नुपर्छ भन्ने विश्लेषण गरिएको छ ।’
बैठकमा सरकारले ठोस कामहरुबारे पनि छलफल भएको उनले बताए । सरकारको बनेको पहिलो दिन नै २२ सदस्यीय मन्त्रिपरिषद् गठन, नेपाली कांग्रेस र एमालेका बीचमा राजनीतिक संयन्त्र गठन गरेर राजनीतिक स्थायित्वको विश्वास दिलाउने काम भएको ज्ञवालीले बताए ।
राजनीतिक संयन्त्र अन्तर्गत कार्यदल बनाएर सरकारले गर्नुपर्ने कामको ९ वटा क्षेत्रहरुमा प्रष्ट भएको ज्ञवालीले बताए । ‘संविधान संशोधन, संघीयताको कार्यान्वयन, संसदमा विचाराधीन विधेकयहरु छिटो टुंग्याउने,’ ज्ञवालीले भने, ‘यी विषयहरुमा दुई दलका बीचमा विश्वासको बताावरण बनाएर स्थिरताको विश्वास दिलाउन सकेको छ ।’
राजश्व १७ प्रतिशत बृद्धि, लगानी बृद्धि लगायत देखिने कामहरु सरकारले गरेको पनि बैठकमा छलफल भएको ज्ञवालीले बताए ।
‘देखिनेगरी कामहरू भएको छ, संक्रमणकालीन न्याय सम्बन्धि विधेयक सर्वसहमतिले पारित भएको छ, आयोग बन्न अलिकति ढिलाइ भएको छ,’ उनले भने, ‘सहकारी क्षेत्रमा ६ हजार बचतकर्ताहरुको सबै रकम एक अर्ब ५७ करोड फिर्ता गरेको छ । ८ हजार बचतकर्ताको आंशिक फिर्ता गरेको छ।’