Logo
२१ पुस २०८१, आईतबार
(January 2, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युवती मृत्यु प्रकरण : मृतकको मोबाइल समेत लिएर युवक फरार

१८ पुस, काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा मृत फेला परेकी युवतीको कोठामा रेडबुलको बट्टा भेटिएको छ ।

अन्य कुनै खानेकुराहरू नभेटिएकाले घटनाको प्रकृति हेर्दा ती युवतीले रेडबुल पिएको जस्तो देखिएको प्रहरी अधिकारीहरू बताउँछन् ।

शरीरमा कतै पनि घाउ चोट नलागेको अवस्थामा युवतीको शव बुधबार भेटिएको थियो । घटनास्थल मुचुल्का गर्ने क्रममा युवतीको मुखबाट फिज निस्किएजस्तो पदार्थ देखिएको प्रहरी अधिकारीको भनाइ छ ।

‘कतै घाउचोट पनि नहुनु । बेडमै मृत भेटिनु र मुखबाट फिँजजस्तो पदार्थ देखिएकाले रेडबुलमा मिसाएर कुनै नसालु पदार्थ सेवन गरे/गराएर हत्या भएको हो कि भन्ने आशंका गरेका छौं,’ एक अनुसन्धान अधिकृत भन्छन्, ‘यद्यपि पोस्टमार्टम रिपोर्ट आउन बाँकी नै रहेकाले मृत्युको कारण यकिन हुन बाँकी नै छ ।’

बुधबार बागमती होटलको कोठा नम्बर ३०८ मा मृत भेटिएकी युवती नयाँ वर्षको अघिल्लो दिन उक्त होटलमा पुगेकी थिइन् । एक युवकसँगै होटलमा पुगेकी ती युवती भोलिपल्ट बुधबार मृत भेटिएकी हुन् । मृत भेटिएकी युवती कागेश्वर मनोहरा ठेगाना भएकी २१ वर्षीया सुस्मिता खड्का रहेको प्रहरीले जनाएको छ ।

उनी खुट्टामा जुत्ता लगाएकै अवस्थामा मृत भेटिएकी थिइन् । जसकारण युवती कोठाबाट बाहिर निस्कन लागेपछि उनी सँगै होटलमा आएका युवकले बाहिरबाट ताला लगाएर फरार भएको हुनसक्ने आशंका प्रहरीको छ । ‘खुट्टामा जुत्ता लगाएकै अवस्थामा मृत भेटिएकाले उनी कोठाबाट बाहिरिने तरखरमा थिइन् कि भन्ने बुझ्न सकिन्छ । अब संदिग्ध व्यक्ति पक्राउ परेपछि मात्रै थप कुराहरू खुल्ला’ एक अनुसन्धान अधिकृतले भने ।

मंगलबार कोठामा बस्न आएका युवायुवती बाहिरबाट ढोकामा ताला लगाएर सम्पर्कविहीन भएको भन्दै बिहीबार होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा बुधबार दिउँसो ताला फुटाएर हेर्दा युवतीको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

युवती मृत भेटिएपछि प्रहरी वृत्त गौशाला, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानको क्रममा युतवीसँगै होटलमा बस्न आएका ती युवकले मृत युवतीको मोबाइल समेत लिएर गएको खुलेको छ ।

‘कोठाको बाहिरबाट ताला लगाएर युवतीको मोबाइल लिएर ती युवक फरार भएको देखिन्छ । युवकको हामीले पहिचान गरिसकेका छौं,’ प्रहरी स्रोतले भन्यो । फरार युवकको पहिचान भइसकेको र पक्राउ गर्न मात्रै बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jan 2, 2025

प्रतिक्रिया दिनुहोस्