रगत निःशुल्क उपलब्ध गराउनुपर्छः महामन्त्री थापा
चितवन, १७ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रगतको आवश्यकता पर्ने व्यक्तिका लागि निःशुल्क उपलब्ध गराउनुपर्ने बताएका छन् ।
नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखाले आज यहाँ आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा उहाँले रगत दिनेले पनि निःशुल्क दिने भएकाले पाउनेले पनि निःशुल्क पाउनुपर्ने धारणा राखे ।
महामन्त्री थापाले भने, “रगत निःशुल्क हुनुपर्छ । अहिले बिरामीले रगतको पैसा तिरिरहनुभएको छ, त्यसलाई राज्यले छुट गर्नुपर्छ ।” पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले यस विषयमा स्वास्थ्य मन्त्रालयको ध्यान केन्द्रित गराउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । दानमध्येको ठूलो दान रक्तदान भएकाले कल्याणको भावनाले उत्प्रेरित भएर काम गर्नुपर्ने उनको भनाइ थियो ।
सामाजिक काममध्येको महत्वपूर्ण र परोपकारी काम रक्तदान भएको भन्दै महामन्त्री थापाले गत दिने र लिनेबीच कुनै सम्बन्ध नहुँदा पनि सहयोग स्वरुप सम्बन्ध स्थापित हुने बताए । उनले थपे, “रक्तदान गर्नेलाई कसले प्रयोग गर्छ थाहा नहुने र लिनेले कसको रगत लियो त्यो पनि थाहा नहुने हुँदा रक्तदान पूण्यको काम हो ।”
उपशाखा सभापति कृपा राजभण्डारीले रक्तदानको महत्वका बारेमा प्रकाश पारेको थियो । सो अवसरमा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, बागमती प्रदेशका प्रदेशसभा सदस्य उत्तम जोशी, भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी, नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरिप्रसाद पौडेललगायत व्यक्तको उपस्थिति थियो ।
जिल्लामा उपचारका लागि रगतको अभाव नहोस् भन्ने उद्देश्यले विभिन्न सङ्घ संस्थाले यहाँ रक्तदानका कार्यक्रम गर्दै आएका छन् ।