पुसभित्र सबै जिल्लामा राष्ट्रिय भूमि आयोग बनिसक्ने
१७ पुस, काठमाडौं । पुस महिनाभित्र सबै जिल्लामा राष्ट्रिय भूमि आयोग बनिसक्ने भएको छ । यसको काम अन्तिम चरणमा रहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीका अनुसार विगतमा अदालतमा मुद्दा परेकाले समय लागेको थियो ।
‘केन्द्रमा राष्ट्रिय भूमि आयोग बनिसकेको छ । सबै जिल्लामा पुसभित्र बनिसक्छ,’ मन्त्री अधिकारीले भने ।
आफूले मन्त्रीको जिम्मेवारी पाएलगत्तै आयोगको काम अघि बढाइएको उल्लेख गर्दै उनले भने, ‘तर अदालतमा मुद्दा पर्यो । मुद्दा फिर्ता लिएर अगाडी बढ्दाबढ्दै चार महिना बित्यो । अब कुनै समस्या छैन ।’
पुसभित्र सबै जिल्लामा आयोग गठन सकेर माघदेखि काम नै सुरु गरिने उनले बताए ।
बुधबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार तथा समन्वय समितिमा गुठी विधेयकबारे छलफल भएको थियो ।
सो छलफलपछि समितिले सरकारलाई गुठी विधेयक जतिसक्दो चाँडो ल्याउन निर्देशन पनि दिएको छ ।